अमेरिकन फौजी कीराको व्यवस्थापन (American Fall Army Worm) कसरी गर्ने ?

मकैको एकल बाली लगाउनु भन्दा कोशेबाली अन्तरबाली वा मिश्रित बालीको रुपमा लगाउँदा कीराको प्रकोप कम हुन्छ
मकैको घोगामा समेत नोक्सान गर्नसक्ने भएकाले खोस्टाले पूरा घोगा छोपिने जातको मकै लगाउने ।
डेस्मोडियम घाँस एक किसिमको गन्ध आउने जुन यो कीरालाई मन नपर्ने हुनाले विकर्षक बालीको रुपमा मकैको बीच बीचमा लगाउने र छेउछाउमा पासो बालीको रुपमा नेपियर घाँस लगाएर कीरालाई आकर्षित गरी नेपियरमा मात्र विषादी प्रयोगद्वारा मार्न सकिन्छ ।
चिम्टाइलो माटो पानीमा भिजाएर मकैको गुँभोमा हाल्न सकेमा किरा २-३ दिनमा मर्छ।
मकै रोप्नु अघि इमिडाक्लोप्रिड ४८ प्रतिशत एफ एस बिषादी प्रति किलोग्राम बीउमा ४ मी.ली.का दरले बीउ उपचार गरेर रोप्दा शुरुको ३ हप्तासम्मको बिरुवाहरुलाई क्षति हुनबाट बचाउन सकिन्छ ।
पातमा सेता लाम्चा झिल्ली सहितका प्वालहरु देखा परेमा नीमजन्य विषादी एजाडिराक्टिन १५०० पी पी एम ५ मिली लिटर प्रति लिटर पानीमा मिसाएर छर्ने ।
मकैको पातमा लार्भाले क्षति गरेको प्वालहरु तथा गुभोमा क्षतिको लक्षण देखा परेमा अनिवार्य रुपमा सुरक्षित पहिरन लगाई निम्नानुसारका रासायनिक विषादीहरु आलोपालो गरी विषादी मिसाएको घोल प्रति रोपनी २५ लिटरका दरले प्रयोग गर्नु पर्दछ ।
इमामेक्टिन बेन्जोएट ५ प्रतिशत एस.जी. १ ग्राम प्रति २.५ लिटर पानीका दरले वा क्लोरएन्ट्रानिलीप्रोल १८.५ प्रतिशत एस.सी. १ मी.ली. प्रति २.५ लिटर पानीका दरले वा स्पाइनोस्याड ४५ प्रतिशत एस.सी. १ मी.ली. प्रति ३ लिटर पानीका दरले मिसाएर छर्ने ।
लार्भा हुर्केपछि तथा मकैको घोगा लाग्न थाले पछि विषादीको प्रयोग प्रभावकारी नहुने हुँदा विषादी प्रयोग नगर्ने । त्यसैले, मकै बालीमा कीराको क्षतिको लक्षणहरु देखिनासाथ विषादीको प्रयोग वा अन्य व्यवस्थापन विधि अपनाई नियन्त्रण गर्नु पर्दछ ।