भारत र चीनबीचको सीमा विवाद शान्तिपूर्ण रूपमा समाधान गर्न नेपालको आग्रह

काठमाडौं/भारत र चीनबीचको सीमा विवादलाई नेपालले शान्तिपूर्ण रूपमा समाधान गर्न दुवै देशलाई आग्रह गरेको छ । नेपाल सधैं क्षेत्रीय र विश्वशान्तिको पक्षमा रहेको भन्दै गलवान उपत्यकामा देखिएको विवाद दुवै देशले शान्तिपूर्ण तरिकाबाट समाधान गर्ने विश्वास नेपालले व्यक्त गरेको छ ।

‘गलवान उपत्यकाको पछिल्लो घटनाक्रमको सन्दर्भमा भारत र चीनले राम्रो छिमेकीको भावनाले, आपसी शान्तिपूर्ण द्विपक्षीय, क्षेत्रीय, विश्वशान्ति र स्थिरताको पक्षमा समस्याको समाधान गर्नेमा हामी ढुक्क छौं,’ परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

लद्दाखको गलवान घाटीमा भएको भारतीय—चिनियाँ सुरक्षाकर्मीबीचको झडपका क्रममा २० भारतीय सैनिकको मृत्यु भएको थियो । सो घटनाको भारत र चीनले एकअर्कालाई आरोपप्रत्यारोप लगाइरहेका बेला नेपालले भने शान्तिपूर्ण तवरमा समस्या हल गर्न भनेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।