चितवनमा वन्यजन्तु आक्रमण बढ्दो : चार महिनामा आठ जनाको मृत्यु

भरतपुर,१३ मंसिर । माडी नगरपालिका ९ स्थित रिउ खोला किनारमा बुधबार घाँस काट्न गएका दुई जनाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र एक वृद्धा छन् ।

माडी नगरपालिका ९ निवासी ३५ वर्षीया सुशीला भण्डारी र सोही ठाउँकी ६० वर्षकी तृष्णाकाली पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनीहरुको शव क्षतविक्षत अवस्थामा भेटिएको स्थानीयले बताएका छन् ।

यो आर्थिक वर्ष लागे यता साढे चार महिनामा वन्यजन्तुको आक्रमणबाट आठ जनाको ज्यान गइसकेको छ । आठ जनामध्ये पाँच जना माडीका बासिन्दा हुन् । गत वर्ष २०७४÷७५ मा वन्यजन्तुको आक्रमणबाट पाँच जनाको ज्यान गएको थियो ।
‘वन्यजन्तु आक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै छ, वन्यजन्तुको सिकारमा बढी माडीवासी नै छन्’ चितवन राष्ट्रिय निकुञ्जका प्रमुख देवकुमार ढकालले भने, ‘साढे चार महिनाकै अवधिमा आठ जनाको मृत्यु हुनु भनेको धेरै हो, गत वर्ष हात्तीको आक्रमण थिएन, यो वर्ष हात्तीको आक्रमण पनि देखिएको छ ।’
प्रमुख ढकालका अनुसार मानव र वन्यजन्तुबीचको द्वन्द्व पछिल्लो समय झन् बढ्दै गएको देखिन्छ । उनले भने, ‘निकुञ्ज र मानव बस्तीबीचमा हालिएको विद्युतीय तार त्यति धेरै प्रभावकारी नभएको देखियो ।’ वस्तीलाई वन्यजन्तुबाट संरक्षित राख्ने भरपर्दो विधि खोज्न ढिलाइ गर्न नहुने उनको भनाइ थियो ।

प्रमुख ढकालले भने, ‘सबै ठाउँमा विद्युतीय तार छैन, जसले गर्दा वन्यजन्तु बस्तीभित्र आइरहेका छन् ।’ उनले वन्यजन्तुबाट मानवलाई जोगाउन अग्लो पर्खाल ९हाइड्याम० बनाउनुपर्ने बताए । उनले भने, ‘बस्ती र निकुञ्जको सिमानामा अग्लो पर्खाल बनाएर विद्युतीय तार लगाउनुपर्ने आवश्यक देखिएको छ, झड्का तारबारले मात्र वन्यजन्तुलाई बस्तीमा आउनबाट रोक्न सकेन ।’

उनले निकुञ्जको सिमानामा छरिएर रहेका बस्तीलाई एकत्रित गर्नुपर्ने सुझाव दिएका छन् । वन्यजन्तुको आक्रमणबाट माडी क्षेत्र बढी प्रभावित छ । माडी चितवन निकुञ्जको जंगल र सोमेश्वर पर्वत श्रृंखलाअन्तर्गतको जंगलले चारैतर्फबाट घेरिएको इलाका हो । भरतपुरबाट लगभग ५० किलोमिटर दक्षिणमा रहेको माडीका बासिन्दा घाँस–दाउरा गर्न जंगलमै निर्भर रहने अवस्था छ ।

बाँदरझुला, कुसुमखोला, प्याउलीजस्ता माडीका केही बस्तीहरु वन क्षेत्रभित्रै रहेका छन् । वनले घेरिएका कारणले पनि माडीवासीलाई वन्यजन्तुले बढी आक्रमण गरेको निकुञ्जको भनाइ छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईले वन्यजन्तु आक्रमण बढ्नुमा मुख्य तीनवटा कारण देखाए । पहिलो कारण उनले निकुञ्जले रोक लगाएको ठाउँमा मानिसहरु घाँँस, दाउरा गर्न गइरहेका कारणले आक्रमण भएको बताए । दोस्रो कारण उनले निकुञ्जभित्र वन्यजन्तुलाई चाहिने बासस्थानको कतै अभाव भएको हुनसक्ने बताए । तेस्रो कारण उनले वन्यजन्तुको संख्या वृद्धि र मानवमा संवेदनशील कम हुनु जनाए ।

जथाभावी रूपमा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा प्रवेश नगरेमा र सावधानी अपनाउन सकेमा यस्ता दुर्घटना न्यून हुने उनको भनाइ थियो ।
९५२ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जको मध्यवर्ती क्षेत्र ७३० वर्गकिलोमिटरमा फैलिएको छ । जहाँ करिब तीन लाख जनसंख्या बसोवास गर्दछन् । उनीहरु घाँस, दाउरालगायत वनपैदावारका लागि मध्यवर्ती क्षेत्रमा आश्रित छन् । आजको चितवनपोष्टबाट