वरगाछी–रोडशेष खण्डको सडक निर्माणमा ठेकेदारको चरम लापर्वाही

ठेकेदारको सामु सरकार निरिह

मंसिर १३, काठमाडौं । ठेकेदारको चरम लापरबाहीका अघि स्थानीय, प्रदेश र संघीय सरकार लाचार बनेपछि प्रदेश १ को अस्थायी राजधानी विराटनगर क्षेत्रको मुख्य सडक सर्वसाधारणका लागि सास्ती सावित भएको छ।

विराटनगरस्थित वरगाछी–रोडशेष खण्डको सडक निर्माणमा भएको ढिलाइले सर्वसाधारण आजित बनेका छन्। सडक भत्काएको तीन वर्ष हुँदासमेत निर्माण सम्पन्न नहुँदा धूलो, हिलो र खाल्डाखुल्डीलेसडक सास्ती दिने माध्यम बनेको छ। बर्खामा हिलो र हिउँदमा धूलोको पीरले सडक छेउका बासिन्दा र यात्रु पिरोलिएको धेरै भइसकेको छ। तर, सरकारी निकायहरू ठेकेदारले काम नगरेको सजिलो उत्तर दिएर पन्छिन छाडेका छैनन्।

यो सडकमा यात्रा गर्नेहरू दुर्घटनाको उच्च जोखिममा पनि छन्। निर्माणाधीन सडकमा जताततै खाल्डाखुल्डी छन्। सडकका खाल्डाले दुर्घटनासमेत निम्त्याइरहेको छ। ठूला तथा मालबाहक सवारी साधनधेरै संख्यामा सञ्चालन हुने भएकाले सडकमा परेका खाल्डाखुल्डी गहिरिँदै गएका छन्। विशेषगरी मोटरसाइकल, साइकल, इरिक्सा लगायतका साना तथा हलुका सवारी साधनमा यात्रा गर्नेहरू खाल्डाकै कारण दुर्घटनाको उच्च जोखिममा परेका छन्। सडकको दुर्दशाकै कारण यो सडकमा सवारीसाधनहरू दुर्घटनामा पर्ने क्रम बढेको स्थानीयको गुनासो छ। स्थानीय व्यापारी उमेश कार्कीले भने, ‘सडकका खाल्डा छल्न खोज्दा दिनहुँजसो सवारी साधन दुर्घटनामा पर्ने गरेका छन्।’ चाँडो सडक निर्माण गर्न स्थानीयले पटक–पटक माग गरेपनि सम्बन्धित निकायले चासो नै नदिएको कार्कीको गुनासो छ। सडक निर्माण ढिलाइले सडक प्रयोगकर्तालाईसास्ती भएको विराटनगर–४ का रञ्जन थापा बताउँछन्। उनका अनुसार वरगाछीबाट महेन्द्रचोक पुग्दा धूलोले आँखा नै हेर्न पनि मुस्किल पर्छ। धूलो मात्रै होइन खाल्डाखुल्डीले झन् जोखिम बढाएको छ। थापाले भने, ‘सडकको धूलो र खाल्डाले कुन बेला दुर्घटना हुने हो टुंगो हुँदैन।’ यो सडक खण्डमा सवारी दुर्घटनाका कारण धेरैले ज्यानसमेत गुमाइसकेका छन्।

‘ठेकेदारले बेवास्ता गर्दा समस्या भइरहेको । जति भने पनि ठेकेदार टेर्दैनन् । हामी दबाब दिने बाहेक केही गर्न सक्दैनौं ’ – विनोद मौवार, व्यापारिक मार्ग विस्तार आयोजना प्रमुख
सहरको मुख्य भागमा पर्ने सडक भएका कारण पनि यहाँ सवारी साधनको धेरै चाप छ। सधैं भीड भइरहने यो सडक निर्माण द्रूत गतिमा गर्ने प्रतिबद्धता जनाए पनिनिर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी र ६ लेनव्यापारिक मार्ग विस्तार आयोजना इटहरीले निर्माणमा लापरबाही गर्दै आएको छ। निर्माणमा ढिलासुस्तीले सडक धुजा–धुजा भएको छ। हिउँदमा धूलो र बर्खामा हिलोले स्थानीय दिक्क भइसकेका छन्। प्रदेश सरकार गठन भएलगत्तैसडक निर्माण चाँडो सक्न व्यापारिक मार्ग निर्माण आयोजनालाई निर्देशन दिएको थियो। तर, सरकार गठन भएको एक वर्ष पुग्न लागे पनि सरकारको निर्देशन कार्यान्वयन भएको छैन।

यता सडक निर्माणको जिम्मा पाएको व्यापारिक मार्ग विस्तार आयोजना इटहरीले निर्माण व्यवसायीका कारणसमस्या भएको जनाएको छ। आयोजना प्रमुख विनोद मौवारले सडक निर्माणमा भएको ढिलासुस्ती र लापरबाहीको गुनासो आएपछि ठेकेदारलाई पक्राउ गर्दा पनि व्यवहार सुधार नभएको बताए। ‘सडक निर्माणको काम चाँडो सक्न बारम्बार दबाब दिए पनि ठेकेदार कम्पनीले काममा बेवास्ता गर्दा समस्या भइरहेको छ’ मौवारले भने। उनका अनुसार निर्माणको काम गर्ने ठेकदारले नै भएकाले आयोजनाले दबाब दिने बाहेक केही गर्न सक्दैन। ‘जति भने गरे पनि ठेकेदार टेर्दैनन्’ मौवारले भने, ‘हामी दबाब दिने बाहेक केही गर्न सक्दैनौं।’ गतवर्ष आफू आएदेखि नै विराटनगरको सडक चाँडो सम्पन्न गर्ने प्रयास गरिरहेको उनले बताए। तर, जति प्रयास गरेपनि कामले गति लिन नसकेको मौवारले स्वीकार गरे।

वरगाछीदेखि महेन्द्रचोकसम्मको भागको ७ मिटर चौडाइमा दसैंअघि नै कालोपत्रे गर्न निर्देशन दिए पनि अझैसम्म काम अघि नबढेको मौवारले बताए। उनका अनुसार तत्काल काम सुरू गर्ने हो भने ९ मिटर भागमा कालोपत्रेको काम एक हप्तामै सम्पन्न गर्न सकिन्छ। वरगाछी–महेन्द्रचोक सडक खण्डको काम चुन्नीरमण जेभीले ठेक्का पाएको थियो। तर, चुन्नीरमणले भूमि कन्स्ट्रक्सनलाई पेटी ठेकेदारका रुपमा भित्र्याएपछि काममा समस्या देखिएको छ। स्रोत साधन र निर्माणको दक्षता नभएको भूमि कन्स्ट्रक्सनलाई बढी सावारी चाप हुने सहरको मुख्य सडक निर्माणको जिम्मा दिँदा निर्माणमा ढिलाइ मात्रै भएको र गुणस्तर कायम हुनेमा पनि स्थानीयले आशंका गर्न थालेका छन्। पेटी ठेकेदार भूमि कन्स्ट्रक्सनले काम गर्न नसकेको अवस्थामा निर्माणको जिम्मा मूल ठेकेदारलाई नै सर्ने आयोजना प्रमुख मौवार बताउँछन् । उनले भने, ‘भूमि कन्स्ट्रक्सनले काम गर्न नसके चुन्नीरमणले नै काम सम्पन्न गर्नुपर्छ।’ यो खबर आजको नागरिक दैनिकमा छ ।