रुकुम जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो

रुकुमपूर्व/रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-७ झारमारे नजिकै लिस्नेमा शुक्रबार बेलुका जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार सात जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको हो । दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन् ।

मृतकमा आठबिसकोट नगरपालिका–३ की ३० वर्षीया कमला वली, वडानम्बर १ का १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीया दिलमाया बुढा, १५ वर्षीया कल्पना नेपाल, २८ वर्षीया सर्मिला बिक, वडानम्बर २ की १७ वर्षीया मनिका वली, १८ वर्षीया सर्मिला बिक र २२ वर्षीय गोपाल वली रहेका छन् ।

घाइते हुनेमा मुसीकोट नगरपालिका–२ का ३४ वर्षीय जीप चालक टोपजंग बुढासहित १७ वर्षीया सिर्जना बुढा, १५ वर्षीया सपना नेपाल, १८ वर्षीया जुना बुढा, १७ वर्षीया संगिता बुढा, १९ वर्षीया शान्ति बुढा, १७ वर्षीया अञ्जना ऐरी, २० वर्षीया महिमा ओली, १७ वर्षीया मनिषा थापा र १५ वर्षीया सबिता बिक रहेका छन् ।

घाइतेमध्ये जुना बुढालाई गम्भीर अवस्थामा नेपालगञ्ज पठाइएको र अन्यको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

रा१ज ४२२ नम्बरको जीप जिल्ला सदरमुकाम मुसीकोट खलंगाबाट आठबिसकोट नगरपालिका स्यालाखदीतर्फ जाँदै गर्दा बाँफिकोट र आठबिसकोटको सिमाना पर्ने झारमारे लिस्नेको लेकमा दुर्घटनाग्रस्त भएको थियो ।

प्रहरीका अनुसार जीप सडकबाट करिब ७ सय मिटर तल खसेको छ। क्षमताभन्दा बढी यात्रु रहेकाले दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।