चिकित्सकको लापरबाहीले ज्यान गुमाएका बालक सलिनले अझै न्याय पाएनन् ।

चितवन , २२ असोज । चिकित्सकको चरम लापरबाही अनि हेल्चेक्याइँका कारण एक महिना अघि ज्यान गुमाएका भरतपुर महानगरपालिका १५, मंगलपुरका बर्ष चारको सलिन विकले अझै न्याय पाउन सकेको छैनन् । सर्पको टोकाइबाट घाइते भएका बिकको समयमै उचित उपचार पाउन नसक्दा भदौ २१ गते निधन भएको थियो । घटना भएको एक महिना बितिसक्दा पनि पीडितले राहत पाउन सकेका छैनन् । यता, उपचारमा लापरबाही गर्ने चिकित्सकलाई अझै कारबाही हुन सकेको छैन ।
जिल्ला प्रशासन कार्यालय चितवनद्वारा बालक उपचारमा लापरबाही भएको र नभएको बिषयमा वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाको नेतृत्वमा गठित छानबिन एंंवम् सुझाव समितिले दोषी किटान गर्नुका साथै पीडित परिवारलाई राहतको व्यवस्था गर्न सुझाव दिएको थियो । गठित छानबिन समितिले भरतपुर अस्पतालका सर्पदंशको उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीहरुले पदीय जिम्मेवारी वहन नगरेको जनाए पनि उनीहरुमाथि अझै कारबाही भएको छैन । यता, मृतक बालकको परिवारको आर्थिक अवस्था अति कमजोर भएको र सो अवस्थालार्ई मध्यनजर गरी बालकका आमाबुबा मध्ये एक जनालाई सरकारी निकायहरुले आपसी समन्वय गरी योग्यता र क्षमतासमेत विचार गरी रोजगारीको तत्काल व्यवस्था गर्न उपयुक्त देखी सिफारिस गरिन्छ भनी प्रतिवेदनमा उल्लेख छ । मृतक बालकको परिवारको आर्थिक अवस्था अति दयनीय रहेकोले मृतकका परिवारलाई राहतस्वरुप विभिन्न स्रोतबाट रकम संकलन गरी उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बहादुर बस्नेतले निर्देशन दिएका थिए ।

भएको के थियो रु
गएको भाद्र २१ गते बिहान सुतिरहेको अवस्थामा सर्पले डसेर घाइते भइ उपचारका लागी अस्पतालमा भर्ना गर्ने क्रममा चिकित्सकहरुले आवश्यक साबधानी नपुर्‍याउदा बिकले ज्यान नै गुमाउनुपरेको थियो । भरतपुर अस्पतालको आकस्मिक कक्षमा बिहान ३ः३९ बजे उपचारको लागि ल्याइएको बालकको उपचारमा आवश्यक सावधानी पुर्‍याउन नसक्दा ज्यान नैै गएको थियो । सर्पदंशबाट घाइतेको उपचारको लागि आवश्यक औषधि ‘एन्टी स्नेक भेनम’ भरतपुर अस्पतालमा मात्र उपलब्ध हुने व्यवस्था रहेको छ । भरतपुर अस्पतालले बालकलाई तत्काल प्रतिबिष दिनुपर्नेमा उपचारको क्रममा जटिलता आउन सक्ने र त्यसको लागि आईसीयू खाली नभएको भन्दै प्राथमिक उपचार पनि नगरी पुरानो मेडिकल कलेजमा ‘रिफर’ गरेको थियो । पुरानो मेडिकल कलेजले पनि आईसीयू खाली नभएको भन्दै आईसीयू भएका अन्य अस्पतालमा पठाएको थियो । त्यस क्रममा बालकलाई चितवन मेडिकल कलेज, नारायणी सामुदायिक र निको बाल अस्पतालमा पु¥याइए पनि ती अस्पतालहरुले भरतपुर अस्पतालमै उपचार गराउन फर्काएका थिए । अस्पतालहरुमा आँसुको खोलो र घाइतेलाई बोकेरै हिंड्दा बिकले ज्यान नै गुमाएका हुन् ।

अस्पताल भन्छ स् मन्त्रालयबाट पत्र आएनन् ।
यता, भरतपुर अस्पतालका मेसु डा। कृष्णप्रसाद पौडेलले ‘मन्त्रालयमा कारबाही के कस्तो हुने भन्नेबारे राय मागिएको भए पनि, अझै निर्णय भने नआइसकेको बताएका छन् ।’ अस्पताल आफैँले भने उनीहरुलाई केही गर्न नसक्ने उनले बताए ।सर्पदशंको कारण बालकको मृत्यु हुनुमा भरतपुर अस्पतालका स्वास्थ्यकर्मीहरुको लापरबाही भएको भन्दै भदौ २३ गते तत्कालीन अस्पताल प्रशासनले उपचारमा संलग्न स्वास्थ्यकर्मी लाई लिखित स्पष्टीकरण भने सोधेको थियो । तर, उनीहरुमाथि के कस्तो कारबाही गर्ने भन्ने सम्बन्धमा भने मन्त्रालयबाट प्राप्त रायको आधारमा निर्णय लिने मेसु पौडेल बताउँछन् ।