पहिरो पीडित पत्रकार गुरुङको परिवारलाई ४१ हजार आर्थिक सहयोग प्रदान ।

चितवन, ३१ भदौ/तमु प्ये ल्हु संघ चितवनले बाढी पहिरो पिडित तमु सञ्चारकर्मी चित्र सोल्टी गुरुङको परिवारलाइ आर्थिक सहयोग प्रदान गरेको छ। संघले आज पीडित सञ्चारकर्मी गुरुङको घरमा नै पुगेर नगद ४१ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो।
सहयोग रकम सँघका जिल्ला अध्यक्ष जगत बहादुर गुरुङ, पुर्व अध्यक्ष एंव सल्लाहकार भिम बहादुर गुरुङ र महिला समितिका जिल्ला अध्यक्ष इन्द्र कुमारी गुरुङले संयुक्त रुपमा पिडित सञ्चारकर्मी गुरुङका बुवा रमेश कुमार गुरुङलाइ हस्तान्तरण गर्नुभयो।
पिडित परिवारलाइ सहयोग रकम हस्तान्तरण गर्दै परिवार नै बिस्थापित हुनुपर्ने जस्तो संकटको अवस्था आएको खबर थाहा पाएसँगै तत्कालका लागि सहयोग पुगोस् भन्ने हेतुले संघले आर्थिक सहयोग गरेको संघका जिल्ला अध्यक्ष जगत बहादुर गुरुङले बताउनुभयो। संघले आफ्ना सदस्यहरु मार्फत सहयोग संकलन गरि तत्काल सहयोग गरेको र सहयोग संकलनमा साथ दिने सबै सदस्यहरूलाई धन्यवाद समेत व्यक्त गर्नुभयो। यस्तै पीडितलाई आफुहरुले प्रदान गरेको सहयोग रकमले कम्तिमा पीडितको परिवारमा यतिबेला परेको संकटमा आत्मबल मिलोस भन्ने अभिप्रायले पनि आफुहरुले संकटमा साथ दिने प्रयास गरेको उहाँले बताउनुभयो।
यस्तै सहयोग रकम ग्रहण गर्दै पिडित सञ्चारकर्मी गुरुङका बुवा रमेश कुमार गुरुङले सहयोग गर्ने संघका सम्पूर्ण परिवारलाई धन्यवाद दिनुभयो।
यस्तै उक्त सहयोग रकम संघको मुल समितिबाट १० हजार, महिला समितिबाट १२ हजार, सदस्यहरुबाट व्यक्तिगत १९ हजार संकलन गरेको संघका सचिब बिक्रम गुरुङले जानकारी गराउनु भयो।
तमु सञ्चारकर्मी संघ नेपालको सचिव एंव तमु प्ये ल्हु संघ चितवनको जिल्ला कार्यसमिति सदस्य समेत रहेका चित्र सोल्टी गुरुङ इच्छाकामना न्युज डटकम र छ्याजालो न्युज डटकमका सञ्चालक हुन्। उनको चितवन इच्छाकामना गाउँपालिका ६ पाचकिलोमा रहेको घरमा यहि भदौ २९ गते साझ परेको अविरल वर्षाले क्षति पुर्‍याएर परिवार नै बिस्थापित बनाएको थियो।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा संघ जिल्ला सचिब बिक्रम गुरुङ, कोषाध्यक्ष मीन बहादुर गुरुङ, युवा समितिका अध्यक्ष राजिव गुरुङ लगाएत संघका अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो। इच्छाकामना न्युज बाट