आज बाट लामो दुरीका सवारी साधन र आन्तरिक हवाइ उडान सञ्चालन हुने।

चितवन/चैत ११ मा जारी भएको लकडाउनपछि बन्द रहका आन्तरिक उडान र लामो दुरीका सवारी साधनहरु आज असोज १ गतेबाट सञ्चालनमा आएका छन्।
आज बिहानैदेखि विश्वकर्माको पूजा गरी व्यवसायिहरुले आ आफ्ना सवारी साधन सञ्चालनमा ल्याएका हुन्।
यातायात लगाएत बजार र आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गत सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको थियो। सरकारले मापदण्ड र सर्तसहित लामो दुरीका सवारी साधन र आन्तरिक उडान असोज १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको थियो । लामो दुरीको सवारीमा ५० प्रतिशत भाडा बढी लिन सक्ने व्यवस्था पनि सरकारले गरेको छ । तर हवाई भाडाको दर भने पर्यटन मन्त्रालयले तोकेअनुसार हुने जनाईएको छ।
आन्तरिक उडान र लामो दुरीका सवारीसँगै आजबाट नै होटल, रेस्टुरेन्ट, ट्रेकिङ तथा ट्राभल व्यवसाय पनि सञ्चालन गर्न सकिने परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका थिए।
लामो दुरीको यातायात सञ्‍चालनका लागि सरकारले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नु पर्ने निर्णय गरेको छ । सर्तअनुसार ५० प्रतिशतमात्रै यात्रु बोक्न पाइने, प्रत्येक १ पङ्तीको सिटमा १ जनामात्रै राख्न पाइने, स्यानिटाइर र मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने छ ।