केन्द्रीय अध्यक्ष पक्राउमा एम्बुलेन्स चालकको आपत्ति

चितवन । फागुन ८ वुधबार / संयुक्त एम्बुलेन्स चालक संघ नेपाल (टे«ड युनियन महासंघ ) का केन्द्रीय अध्यक्ष नवराज लामिछानेलाई जिल्ला प्रशासन कार्यालयले विना कारण पक्राउ गरी नियन्त्रणमा लएकोमा संस्थाको गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको छ । संघका केन्द्रीय महासचिव मुक्ति काफ्ले र चितवन शाखाका जिल्ला अध्यक्ष सुमन घलेद्धारा जारी विज्ञप्तीमा अनुगमनको नाममा एम्बुलेन्स चालकमाथि भएको अनावश्यक धरपकडको विरोध गरिएको छ ।
मंगलबार भरतपुर अस्पताल परिसरमा भएको अनुगमनमा जनस्वास्थ्य कार्यालयले विशुद्ध अनुगमन भन्दा पनि संस्थाको विरोधमा रहेका केही मानिसहरुको उक्साहटमा संस्थाको साख गिराउने गरी उक्त कार्य गरेकोमा आपत्ति जनाइएको छ । अनुगमन गर्ने नै भए प्रशासनको टोलीमा एक जना एम्बुलेन्स चालक पनि समावेश हुनुपर्ने आफूहरुको माग रहेको केन्द्रीय अध्यक्ष नवराज लामिछानेले बताए ।
एम्बुलेन्सको अवस्था, सेवासुविधा हेर्न छाडेर चालकलाई अपमान हुने गरी अनुगमनको नाटक गरिएको भन्दै संघले आपत्ति जनाएको छ । अनुगमनका लागि प्रशासन योग्य रहेको तर शैली ठीक नभएको एम्बुलेन्स चालकहरुको भनाइ छ । अध्यक्ष लामिछानेलाई दिनभर नियन्त्रणमा लिइ मंगलबार वेलुकीपख छाडिएको थियो ।