भरतपुर क्यान्सर अस्पतालका तत्कालीन निर्देशक भक्तमान श्रेष्ठको अपहरणमा संलग्न थप एक जना पक्राउ

चितवन/भरतपुर क्यान्सर अस्पतालका तत्कालीन निर्देशक भक्तमान श्रेष्ठको अपहरणमा संलग्न गिरोहका एक जनालाई पक्राउ गरिएको छ । अपहरणका योजनामा अपहरितलाई राख्ने घरको व्यवस्थापन गर्ने कार्यमा संलग्न राजेन्द्र पण्डितलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले नुवाकोटबाट पक्राउ गरेको हो ।
उनलाई पुनरावेदन अदालत, हेटौंडा इजलासले ९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । तर उनी लुकिछिपी नेपाल र भारतका विभिन्न स्थानमा बस्दै आएका थिए ।
अपहरणकारी रोहित पालिवाल र भीमसेनको समूहले ४ जेठ २०६७ मा अस्पतालबाट घर फर्किँदै गरेका तत्कालीन निर्देशक श्रेष्ठको अपहरण गरेको थियो र, फिरौतीवापत तीन किलो ६ सय ग्राम सुन भारतको लखनउ नजिकैबाट असुलेको थियो ।
प्रकरणमा रोहितलाई अपहरणमा फिरौतीवापत लिइएको १ करोड ८ लाख ५० हजार रुपैयाँ बिगो र त्यस बराबरको जरिवाना र १५ वर्ष कैद सजाय सुनाएको थियो । पालिवाल भने पक्राउ परिसकेका छन् ।
मोबाइल र सञ्चारका अन्य साधनबाट टाढा रहेका कारण प्रहरीले भिमसेनलाई पक्राउ गर्न सकेको छैन ।