चितवनको चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण,गाउँपालिका अध्यक्ष गुरुङद्धारा उद्घाटन
इच्छाकामना/चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन निर्माण भएको छ । चेपाङ बालबालिका अध्ययन गर्ने जिल्लाको विकट क्षेत्र भाराङमा विद्यालयको २५ वर्ष पुरानो भवन जीर्ण भएपछि नयाँ भवन निर्माण गरिएको हो । गाउँपालिकाको ५० प्रतिशत र सपना भिलेज सोसल इम्प्याक्टको ५० प्रतिशत लगानीमा निर्माण भएको नौकोठे विद्यालय भवनको शुक्रबार गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले उद्घाटन गर्नुभयो ।
सो अवसरमा बोल्दै अध्यक्ष गुरुङले चेपाङ बस्तीको शैक्षिक सुधारका लागि गाउँपालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो । ‘गाउँको शैक्षिक उन्नयनका निम्ति हामी सधैं प्रतिबद्ध छौं,उहाँले भन्नुभयो,विद्यालयमा आवश्यकता अनुसारका भौतिक संरचना र शिक्षकको दरबन्दी व्यवस्था हुन्छ ।’ उहाँले भौतिक निर्माण र शैक्षिक सुधारका कार्यक्रमलाई संगसंगै लैजाने बताउनुभयो ।
अहिले कक्षा ८ सम्म मात्र पढाइ भइरहेको यस विद्यालयलाई आगामी शैक्षिक सत्रबाट कक्षा ९ को पढाइ सुरु गराउनका लार्गि अभिभावक तथा शिक्षकहरुलाई आग्रह गर्नुभयो । उहाँले विद्यालय भवन निर्माणका लागि साझेदारी गर्ने संस्था समपना भिलेज सोसल इम्प्याक्ट सौराहालाई धन्यवाद दिनुभयो । गाउँपालिका उपाध्यक्ष माया सिलवालले गाउँपालिकाले शिक्षाबाट कोही पनि वञ्चित नहोस भन्नेमा ध्यान केन्द्रित गरिरहेको बताउनुभयो । कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित भएको पाए शिक्षकहरुले अभिभावक र बालबालिकालाई सम्झाई बुझाई गरि विद्यालय सम्म ल्याउनुपर्ने कर्तव्य रहने उहाँको भनाई छ ।
बालबालिकाहरुलाई अनुसान र नैतिकवान बनाउन अभिभावकहरुको मुख्य भूमिका रहेकोले त्यस तर्फ अभिभावकले ध्यान दिनुपर्ने उपाध्यक्ष सिलवालले बताउनुभयो । गाउँपालिकाले इच्छाकामनाको समृद्धिका लागि सबै सँग सहकार्य गरिरहेको बताउँदै उहाँले विद्यालय भवन निर्माणमा साथ सहयोग गर्ने सबैमा आभार व्यक्त गर्नुभयो । विकट भनिएको भाराङमा विद्युत, मोटरबाटो, खानेपानी, पक्की विद्यालय भवन बनीसकेको र थप विकासका लागि गाउँपालिका तयार रहेको सिलवालले बताउनुभयो ।
सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले इच्छाकामना गाउँपालिकाका विभिन्न वडामा विशेष गरी शिक्षा क्षेत्रको विकासका लागि सहयोग गरिरहेको बताउनुभयो । उहाँले स्थानीय तहसँगको सहकार्यले ग्रामीण भेगका विद्यालयमा गुणस्तरीय शिक्षा र सुरक्षित सिकाइ वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नयाँ भवन निर्माण हुनु अघि जीर्ण अवस्थामा रहेको पुरानो विद्यालय भवनका कारण पठनपाठनमा समस्या हुँदै आएको थियो । अहिले आधुनिक संरचना, सुरक्षित कक्षा कोठा र पर्याप्त स्थानसहितको नवनिर्मित भवनले विद्यार्थी र शिक्षक दुवैलाई सहज र प्रेरणादायी वातावरण प्रदान गरेको विद्यालय प्रधानाध्यापक दीप बहादुर गुरुङले बताउनुभयो ।
गाउँपालिका र सपना भिलेजको सहकार्यमा रु एक करोड १३ लाख ६२ हजार २२९ मा ८ कोठे पक्की भवन निर्माण गरिएको हो । यस्त सहरी विकास मन्त्रालयको आर्थिक सहयोगमा ४ कोठे भवन निर्माण कार्य पनि सम्पन्न भएको छ । कक्षा ८ सम्म पढाइ हुने यस विद्यालयमा २७० बालबालिका अध्ययनरत छन् ।
सो अवसरमा विद्यालयलाई जग्गा दान गर्ने दाता लगायत सहयोगीहरुलाई सम्मान गरिएको थिए भने विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेका थिए । शुक्रबार विद्यालयको ५४ औं बार्षिकोत्सव समेत मनाइएको छ । सो कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष लक्ष्मण चेपाङ, वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती, विभिन्न संघसंस्थाका प्रतिनिधि, अभिभावकहरुको उपस्थिति रहेका थिए । कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष सन्त बहादुर राना मगर, सपना भिलेज सोसल इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन बस्नेत लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम विद्यालय व्यवसाथपन समितिका अध्यक्ष सुद्ध बहादुर चेपाङको अध्यक्षतामा सम्पन्न भएको हो ।


