कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काठमाडौं/नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दैछ । पाटी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार बिहान एक सूचना जारी गर्दै बिहान ९ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ । कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग अनुसार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्ष पुस २७ र २८ गते विशेष महाधिवेशनको तयारीबाट पछि नहटेपछि कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक डाकेको हो ।
विशेष महाधिवेशनका लागि प्रतिनिधि आउने क्रम जारी रहेको छ । महाधिवेशनस्थल भृकुटीमण्डपमा अहिले चहलपहल बढेको छ ।


