भरतपुर भ्रमण वर्षको सन्दर्भमा २० वटा घडियाल गोही राप्तीमा छाडियो

चितवन/भरतपुर भ्रमण वर्षको सन्दर्भ पारेर चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका २० वटा घडिया गोहीलाई राप्ती नदीमा छाडिएको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शनिबार एक कार्यक्रमका बीच विदेशी पर्यटकको उपस्थितिमा निकुञ्जको मुख्यालय नजिक राप्ती नदीमा ७ वर्ष पुरा भएका घडियाल गोहीलाई प्राकृतिक बासस्थानमा छाड्नु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले वर्षेनी बाढीका समय घडियाल गोही बघाएर भारत जाने समस्याको दीर्घकालिन समधान खोज्नुपर्ने बताउनुभयो ।
घडियाल गोही अन्य गोही प्रजातिको तुलनामा स्वच्छ ठाँउ तथा पानीमा बस्न मन पराउने र सफा पानीमा भएको माछा खाना मन पराउने भएकाले यसको संरक्षणमा सबै लाग्नुपर्ने औल्याउनुभयो ।
नयाँ रौनक ल्याउने, मन्द आर्थिक गतिविधिलाई चलायमान बनाउने र सबैमा सकारात्मक भावना पैदा गराउने भ्रमण वर्षको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो ।
‘भ्रमण वर्ष मनाइ रहदा भरतपुरका होटलहरु पर्यटकहरु भरिभराउ छन्’,उहाँले भन्नुभयो,‘महानगरपालिकाको चाहाना पनि यही हो । उत्साहाजनक महोल वृद्धि हुँदै गइरहेको छ । यसलाई वर्षभरि नै निरन्तरता दिने गरी अघि बढेका छौ ।’
घडियाल गोही भरतपुरको पर्यटनको अर्को पहिचान भएकाले यसको संरक्षण गरी पर्यापर्यटनसँग जोड्नुपर्ने धाराणा राख्नुभयो ।
प्रमुख दाहालले प्रजनन् केन्द्रमा अहिले पनि अध्ययन अनुसन्धानका लागि धेरै विदेशी पर्यटक यहाँ आउने गरेकाले अनुसन्धानको थलो बनेको बताउनुभयो ।
भरतपुर भ्रमण वर्षको अवसरमा चितवन राष्ट्रिय निकुञ्जलाई थप ब्राण्डिङ गर्न थप पर्यटकीय सम्भावनाको खोजी भइरहेको प्रमुख दाहालले जानकारी दिनुभयो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल पुर्जा पुनले गडियाल गोही विश्वका केही देशमा पाइने भएकाले यसको संरक्षण गर्न नदीलाई प्रदुषणमुक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।
घडियाल गोही नेपाल, भारत, पाकिस्तान, भुटान, बंगलादेशमा र म्यानमारमा करिब १० हजारको संख्यामा प्राकृतिक अवस्था विचरण गर्ने गरेको र यो संख्या संकटग्रस्त भएकाले यसको संरक्षणमा सबै पक्ष लाग्नुपर्ने उहाँको भनाइ थियो ।
गोही संरक्षणका लागि विस २०३० मा स्थापन भएको प्रजनन केन्द्रले गोहीको अण्डा संकलन गरि वार्षिक २०० बच्चा उत्पादन गर्ने गरेको छ । जसमध्ये १५० गोहीलाई बचाउँन सकिने निकुञ्जको तथ्याङक छ ।
निकुञ्जका अनुसार प्रजनन् केन्द्रमा हालसम्म १९ सय १७ वटा छाडिएको छ । राप्ती नदीमा ११ सय ६२, नारायणी नदीमा ४१९, बबई नदीमा ११०, सप्तकोशीमा ११५, कर्णालीमा ४१, कालिगण्डकीमा ३५, पश्चिम राप्तीमा १० र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका चैधर खोलामा २५ वटा घडियाल छाडिएको छ ।
निकुञ्का सूचना अधिकारी गणेश तिवारीले छाडिएको घडियाल गोहीमध्ये राप्तीमा १५२ र नारायणीमा ११३ गरी २६५ वटा गणनाको क्रममा भेटिएका छन् । जसमध्ये राप्ती र नारायणीमा ३÷३ वटा भाले घडियाल गोही छन् । यो बाहेक प्रजनन् केन्द्रमा ६४८ वटा घडियाल गोही रहेका छन् ।
घडियाल प्रजनन् केन्द्रमा भाले घडियाल गोही न्युन संख्यामा उत्पादन हुने गरेको छ ।