ईच्छाकामनामा पर्यटन प्रवर्धन गर्न महोत्सव

मुग्लिन/(चितवन)चितवनको ईच्छाकामनामा पर्यटन प्रवद्र्धन गर्न महोत्सवको आयोजना गरिएको छ । ईच्छाकामना–४ कुरिनटारमा यही भदौ २७ गतेदेखि असोज ७ गतेसम्म महोत्सव हुने भएको छ ।
पर्यटन प्रवद्र्धन तथा आर्थिक गतिविधि चलायमान बनाउन ईच्छाकामना–४ को कार्यालय कुरिनटार र ईच्छाकामना उद्योग वाणिज्य सङ्घ मुग्लिनको आयोजना तथा ईच्छाकामना एफएम कुरिनटारको सह–आयोजनामा महोत्सव हुने भएको हो ।

जिल्लाको एक मात्र गाउँपालिका ईच्छाकामनाको पर्यटकीयस्थलको प्रवद्र्धन तथा आर्थिक गतिविधि चलायमान बनाउन महोत्सव आयोजना गरिएको महोत्सव मूलसमरोह समितिका संयोजक समेत रहनुभएका इच्छाकामना–४ का वडाध्यक्ष रुद्र उप्रेतीले बताउनुभयो ।

“पछिल्लो समय यहाँका व्यवयसाय धरायसी अवस्थामा छन्, आर्थिक गतिविधि चलायमानसँगैँ यहाँको पर्यटन प्रवद्र्धनलाई टेवा पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरेका हौँ”, उहाँले भन्नुभयो । महोत्सवलाई सफल बनाउन विभिन्न उपसिमिति निर्माण गरी काम गरिँदै छ ।

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले आर्थिक गतिविधिलाई चलायमान बनाउन महोत्सवले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । साथै उहाँले यहाँ रहेको पर्यटकीय स्थलको प्रवद्र्धन, स्थानीय उत्पादनको प्रवद्र्धन र कला साहित्य संस्कृतिको उजगार तथा संरक्षण गर्न मद्दत पुग्ने बताउनुभयो । महोत्सवबाट गाउँपालिकामा आउने कर बापतको सम्पूर्ण रकम विपन्न बालबालिकाको शिक्षामा खर्च गरिने उहाँले बताउनुभयो ।

महोत्सवको मुख्य आकर्षणमा धार्मिक तथा पर्यटकीयस्थल ईच्छाकामना मन्दिर,जय बालगौरी पाथिभरा सिहंदेवी मन्दिर, मनकामना मन्दिर, सिराइचुली, उपर्दाङगढी, लामो झरनाको अवलोकनका लागि विशेष प्याकेजमा पदयात्रा, आदीवासी जनताजाती तथा सीमान्तकृत समुदायको वेषभूषा रहनसहन तथा संस्कृतिको प्रदर्शनी, औद्योगी प्रदर्शनी, घरेलु एंव कृषि प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहनेछ ।रासस