प्रेस चौतारीका अध्यक्ष बस्नेतले अफवाह फैलाएको भन्दै कारवाहीको माग

काठमाण्डौं/प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको स्थिर समय (मौन अवधि) चलिरहेको अवधिमा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले स्थापित संचारमाध्यमको लोगो राखेर प्रविधिको दुरुपयोग गरि अफवाह फैलाएको भन्दै कारवाहीको माग गरिएको छ ।

प्रेस सेन्टरले आज एक विज्ञप्ती जारी गर्दै प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको स्थिर समय (मौन अवधि) चलिरहेको अवधिमा नेकपा (एमाले) को प्रचार विभाग सदस्य तथा प्रेस चौतारी नेपालका अध्यक्ष समेत रहेका बस्नेतलगायत एमालेसम्बद्ध केही पत्रकारहरुले स्थापित अनलाइन तथा पत्रिकाहरूका समाचारलाई प्रविधिको दुरुपयोग (सोर्स कोड परिवर्तन) गरी सामाजिक सञ्जालमा शेयर गरेर अफवाह फैलाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पराजित मानसिकताको उपजका रुपमा बस्नेत लगायत उनको संगठनका सदस्यहरुले सेतोपाटी, अनलाइनखबर, रातोपाटी, नयाँ पत्रिका, उज्यालो अनलाइन, लोकपाटी लगायतका स्थापित सञ्चारमाध्यमका समाचारमा सोर्स कोड परिवर्तन गरी हुँदै नभएको विषयलाई शीर्षक र समाचार बनाई स्क्रीनसट गरेर सामाजिक सञ्जालमा पोष्ट गरिरहेका विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ–‘सञ्चारमाध्यममा प्रकाशित समाचारलाई इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग गरी भ्रम फैलाउनु, सोर्स कोड परिवर्तन गर्नु र त्यसकै स्क्रीनसट गरी सामाजिक सञ्जालमा पोष्ट गर्नु साइबर अपराध हो । सम्बन्धित सञ्चारमाध्यमको लोगो र नाम जोडेर बदनाम गर्नु अर्को अपराध हो । यस्तो गलत कार्य पत्रकारिताको मूल्यमान्यता र आचारसंहिताको घोर उलङ्घन पनि हो । त्यसैले यस्तो आपराधिक कार्य गरी पत्रकार र पत्रकारिताको मूल्यमान्यता र मर्यादामाथि आघात पु¥याउने प्रेस चौतारी नेपालका अध्यक्ष बस्नेत लगायत यस कार्यमा संलग्न सबै पत्रकारहरुलाई तत्काल नेपाल पत्रकार महासंघको साधारण सदस्यबाट हटाउन र सूचना तथा प्रसारण विभागबाट लिइएको प्रेस प्रतिनिधि प्रमाण पत्र खारेज गर्न सम्बन्धित संस्थासँग जोडदार माग गर्दछु ।’

यस घटनालाई गम्भीर रुपमा लिई आवश्यक कार्बाहीका लागि कदम चाल्न प्रेस काउन्सिल नेपाल र निर्वाचन आयोगसमक्ष प्रेस सेन्टरले माग गरेको छ ।