मतदान प्रक्रियामा अवरोध गर्नेलाई कारबाही गर्न आयोगको निर्देशन

काठमाण्डौं/भोलि हुन गइराखेको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान प्रक्रियामा अवरोध गर्नेलाई कारबाही गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । आज शनिबार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको निष्पक्षतामा प्रभाव पार्नेगरी कुनै डर त्रास देखाई मतपेटिका नियन्त्रण गर्न खोज्ने, मतदानको अधिकार नभइ मतदान गर्न खोज्ने लगायतका अवाञ्छित काम गर्नेलाई कानुन बमोजिम कारबाही गर्न आवश्यक निर्देशन दिइएको जानकारी गराए ।

 

उनले भने– ‘निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहिँ कतैबाट प्रश्न नउठोस् भन्ने ध्येयले मतदान हुने दिन मतदान कार्यमा खटिएका मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्य पालना गर्न नदिने, बल प्रयोग गरी वा डर त्रास देखाई मतदान केन्द्र कब्जा गर्न खोज्ने, कुनै मतदातालाई बाटो वा गौंडामा छेकी मतदान केन्द्रमा जान नदिने, मतपेटिका तथा मतदान सामग्री खोस्न वा नष्ट गर्न खोज्ने, वादविवाद वा हुलहुज्जत वा असामान्य अवस्था सिर्जना गर्ने, मतपत्रको दुरुपयोग गर्ने, मतदानको अधिकार विना मतदान गर्न खोज्ने, पटक–पटक मतदान गर्न खोज्ने, मतदान अधिकृतले निषेध गरेको कुरा गर्न खोज्ने जो कोहीलाई कानुन बमोजिम कारबाही गरी मतदाताको स्वतन्त्रता र स्वच्छतालाई कायम गर्न निर्वाचनको काममा खटिएका कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षक लगायतलाई आवश्यक निर्देशन दिइएको छ ।’