आज विश्व मधुमेह दिवस

काठमाण्डौ/आज नेपालमा पनि विश्व मधुमेह दिवस मनाइँदैछ । मधुमेहको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्म दिनको अवसरमा सन् १९२२ देखी यो दिवस मनाउन थालिएको हो ।

सन् २००६ देखि संयुक्त राष्ट्र सङ्घले नोभेम्बर १४ लाई विश्व मधुमेह दिवसको रुपमा मान्यता दिएको हो । यस वर्षको मधुमेह दिवसको नारा एजुकेसन टु प्रोटेक्ट टुमरो भन्ने रहेको छ । विश्वमा अहिलेसम्म ४६ करोडभन्दा बढी मानिसमा यो रोग देखिएको छ ।

नेपालमा पनि ८ प्रतिशतसम्म मानिसमा मधुमेह भएको हुनसक्ने अनुमान छ । डाक्टरहरुले मधुमेह हुने सबैभन्दा जिम्मेवार कारण हाम्रो जीवनशैलीलाई मान्छन् । वंशाणुगत कारणले पनि मधुमेह हुन्छ । अहिले मधुमेह वा डायबिटिजको उपचार नेपालमा पनि सहज बन्न थालेको छ ।

समयमा नै मधुमेहको पहिचान गरेर उपचार गर्ने हो भने गम्भीर समस्या नआउने डाक्टरहरु बताउँछन् । मधुमेह वा डायबिटिजलाई बोलीचालीको भाषामा चिनी रोग वा सुगर पनि भन्ने गरिएको छ । मधुमेहबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय तौललाई नियन्त्रणमा राख्ने र शारीरिक रुपमा क्रियाशील रहनु हो ।