चुच्चे नक्सा दलका चुनावी अजेन्डा

काठमाण्डौं/प्रमुख राजनीतिक दलहरूले भारतले मिचेको कालापानी, लिपुलेक तथा लिम्पियाधुरा क्षेत्रको भूमिका फिर्ता ल्याउने भन्दै मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मत माग्दै आएका छन्। अझ विपक्षी गठबन्धनको नेतृत्व गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले त भारतसँगको भूमि र्फिता ल्याउनका लागि आफ्नो पार्टीले जित्नुपर्ने दाबी गर्दै आएका छन्।

सर्वदलीय सहमतिबाट प्रतिनिधिसभाबाट भारतले मिचिएको भूमि समेटेर चुच्चे नक्सा संविधानको अनुसूचीमा समावेस गरिए पनि ओलीले आफैले मात्र गरेको दाबी गर्दै आएका छन्। तर, सरकारको नेतृत्वमा रहँदासम्म ओलीले भूमि फिर्ता ल्याउनका लागि भारतसँग औपचारिक वार्ता सुरु गरेपनि त्यसपछि गठन भएको शेरबहादुर देउवा नेतृत्व सरकारले वार्ताबाट मिचिएको भूमि फिर्ता ल्याउने भन्दै कुटनीतिक पहल जारी रहेको दाबी गरेको छ।

तर, चुच्चे नक्साले ओगटेको क्षेत्रफल सार्वजनिक गर्ने विषयमा भने कोही बोलेका छैनन्। अझ ओलीकै पालामा नापी विभागले चुच्चे नक्साले ओगटेको क्षेत्रफल मापन गरी भूमि व्यवस्था मन्त्रालयलाई गोप्य रिपोर्ट बुझाएको थियो। ओली सरकारले त्यस रिपोर्टलाई सार्वजनिक गरेन। बरु त्यस रिपोर्टलाई निकै गोप्य राख्यो। यस विषयमा भूमि व्यवस्था मन्त्रालयका उच्च कर्मचारीहरू बोल्दैनन। आफूलाई थाहा नभएको भन्दै पन्छिने गरेका छन्।