पोखरीमा डुबेर सिरहामा तीन बालकको मृत्यु

सिरहा/पोखरीमा डुबेर सिरहाको मिर्चैयामा तीन जना भारतीय बालकको मृत्यु भएको छ ।

मिर्चैया नगरपालिका वडा नम्बर १ मा रहेको जेके इँटा उद्योगमा कार्यरत भारत बिहार पुरनियाँ खरिन्चियाका खुर्सिद आलमका दुई छोरा १२ वर्षका अली हसन, १० वर्षका नवी हसन र जोगवनी निरगञ्जका नन्दलाल दासका १० वर्षका छोरा नितेशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी अर्जुन प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

हिजो बेलुका इँटा उद्योग नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेका अवस्थामा छोराहरूलाई देखेपछि खुर्सिदले तीनै जनालाई तत्काल निकाले पनि अली र नवीको घटनास्थलमै ज्यान गएको र अर्का बालक नितेशको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको उहाँले बताउनुभयो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।