प्रहरीले टिकटक लगाएत मनोरञ्जनका एप चलाउन नपाउने

ओखलढुङ्गा/प्रहरीलाई टिकटक लगायत मनोरञ्जनका एपमा प्रतिवन्ध लगाइएको छ।

सामाजिक रूपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटकलगायतका मनोरञ्जनमा व्यस्त नहुन निर्देशन दिएको हो ।
प्रहरी कर्मचारीलाई सामाजिक सञ्जालको सदुपयोग गर्न जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले निर्देशन दिनुभएको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा उहाँले प्रहरी कर्मचारी ड्यिुटीमा रहेका बेला सामाजिक सञ्जालमा व्यस्त हुन नहुने, अन्य समयमा पनि प्रहरीले समाजमा सकारात्मक सन्देश दिने र सामाजिक हितका सामग्री पोस्ट गर्नुपर्ने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा तथा मातहतका प्रहरी इकाइमा कार्यरत ४५ प्रहरी कर्मचारीलाई प्रहरीले पालना गर्नुपर्ने आचारसंहिता र सामाजिक सञ्जाल प्रयोगसम्बन्धी सचेत गराइएको जिल्ला प्रहरी प्रमुख काफ्लेले बताउनुभयो ।

‘प्रहरीले मनोरञ्जनमा लागेर अलमल गर्न त पाउँदैन । ड्यिुटीको समयमा मोबाइल चलाएर टिकटक बनाएर बस्ने कुरा त झन स्वीकार्य हुँदैन’, उहाँले भन्नुभयो, ‘प्रहरी कर्मचारीले फेसबुक, ट्विटर, टिकटकलगायत आफ्नो हितका लागि भन्दा पनि सामाजिक हित र सकारात्मक सन्देश दिने खालका पोस्ट गर्नुपर्नेबारे सचेत गराएका छौँ ।’

देशका कतिपय ठाउँमा प्रहरी कर्मचारीले पोसाक वा हतियारको गलत प्रयोग गरेर टिकटक बनाएको पाइएकाले त्यस्ता गतिविधि प्रहरी आचारसंहिता विपरीत रहेकाले त्यसो नगर्न सचेत गराएको उहाँको भनाइ छ ।