आज प्रधानमन्त्री ओली चितवन आउँदै, सुरक्षा व्यवस्था कडा, प्रचण्ड-माधव समुह निकट अनेरास्वबियूले ठाउठाउमा टाएर जलाई अवरोधको प्रयास!

चितवन/प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहका अध्यक्ष केपी शर्मा ओली आज चितवनको भरतपुर आउने कार्यक्रम छ । भरतपुरमा हुन् लागेको आफ्नो समुहको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली चितवन आउन लागेका हुन्। सोही अवसरमा प्रधानमन्त्री ओलीले भरतपुरका दुई विकास आयोजनाको शिलान्यास कार्यक्रम गर्ने छन्।
प्रधानमन्त्रीले भरतपुरका महत्वपूर्ण आयोजना सिटी हल र पुल्चोक–गोन्द्राङ सडक विस्तारको शिलान्यास गर्ने कार्यक्रम रहेको नेकपा ओली समूहले यस अघि नै पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । भरतपुर महानगरपालिका–१० स्थित बाइपास सडकसँगै चार बिघा चार कट्ठा जमिनमा सिटीहल निर्माणको काम सुरु भइसकेको छ ।
यस्तै नारायणगढको पुल्चोकदेखि गोन्द्राङ्गसम्मको छ लेन सडक दुई वर्ष चार महिनाभित्र बनाइसक्ने गरी रु एक अर्ब १२ करोडमा ठेक्का लगाइएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गतको उक्त सडक खण्ड भरतपुर र नारायणगढको मुख्य शहरी क्षेत्रमा पर्दछ । यी दुवै आयोजनाको काम सुरु भइसकेको महिनादिन बढी भइसकेको छ ।
त्यस्तै प्रधानमन्त्री ओली सहित भरतपुरको केन्द्रीय बस टर्मिनलमा मध्याह्न १२ः ३० बजे हुने जनसभालाई , उपप्रधानमन्त्री इश्वर पोखरेल गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, शहरी विकासमन्त्री प्रभु साहलगायतका नेतो सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभाको तयारी पुरा भइसकेको नेकपा चितवन (ओली समूह)ले जनाएको छ । जनसभा परिचालन समितिका संयोजक काशिनाथ अधिकारीले सभाको तयारी पुरा भएको जानकारी दिए।
प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरु चितवन आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले भरतपुरका विभिन्न क्षेत्रमा आवश्यक सुुरक्षाकर्मी परिचालन गरिएको बताएका छन्।
यता,(आज) शनिबार बिहान चितवनमा नेकपाको प्रचण्ड-माधव समूह निकट अनेरास्वबियूले ठाउठाउमा टाएर जलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा `बादल´ लगाएतका मन्त्रीहरु आज नेकपा ओली समूहले आयोजना गरेको आमसभामा सम्बोधन गर्न चितवन आउने भएपछि प्रतिगमनकारीहरुलाई चेतावनी स्वरुप ठाउठाउमा टायर बाली कालो ब्यानर समेत राखिएको अनेरास्वबियूले जनाएको छ । जिल्लाको आपटारी, बाईपास, गोन्द्राङ्ग लगाएतका स्थानमा टाएर बालीएको हो । कालो ब्यानरमा प्रतिगमनकारी होसियार,असबैधानीक कदम खारेज गर,जनमतको कदर गर लगाएतको नारा लेखिएको छ ।