कामचलाउ सरकारका प्रधानमन्त्री ओलिद्वारा भरतपुर महानगरको गौरवको आयोजनामाथि ठाडो हस्तक्षेप!

चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगरको गौरवको आयोजनामा काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक हस्तक्षेप गरिरहेको भन्दै सो कार्यको भर्त्सना गरेकी छिन्।
आज भरतपुर महानगरपालिमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख दाहालले महानगरसँग कुनै समन्वय नै नगरी,कुनै जानकारी नगराई स्थानीय तहको गौरवको आयोजना सिटी हल र पुल्चोक–गोन्द्राङ ६ लेन सडकको शिलान्यास गर्न कामचलाउ सरकारका प्रधानमन्त्री केपी आउनु भनेको संघीयताको मर्म विपरित भएको बताईन्
पत्रकार सम्मेलनमा प्रमुख दाहालले भनिन्, ‘काम सुरु भइसकेको आयोजनाको शिलान्यास गर्न प्रधानमन्त्री नै आउनु भनेको राज्यको सरासर दुरुपयोग हो, यसमा हाम्रो गम्भीर असहमति छ, स्थानीय स्वायत्त शासनको बर्खिलाप भएको महसुस हामीले गरेका छौँ ।’यो केन्द्र सरकारको ठाडो हस्तक्षेप हो, उनले भनिन्।
प्रमुख दाहालले काम चलाउ सरकारले भरतपुर महानगरलाई निषेध गरेर संघीयताको मूल मर्म विपरीत गएर स्थानीय सरकारको अधिकारमाथि ठाडो हस्तक्षेप गरेको बताइन् । उनले महानगरले अघि बढाईरहेको आयोजनामा अनावश्यक रूपमा केन्द्र सरकारले हस्तक्षेप गर्नु राज्यको दुरुपयोग भएको बताइन् ।
उनले भनिन्, ‘विगतमा पटकपटक शिलान्यासको मिति तोकेर तयारी गयौँ, तर अनेक बहाना बनाइ शिलान्यास गर्न दिइएन, अहिले काम सुरु भइसकेको आयोजनामा स्थानीय सरकारलाई गुमराहमा राखेर शिलान्यास गर्ने योजना केन्द्र सरकारले बनाएकोमा यसप्रति हाम्रो गम्भीर असहमति छ ।’
प्रमुख दाहालले पत्रकार सम्मेलनमा महानगरलाई पूरै माइनस गरेर शिलान्यास कार्यक्रम राखेकाले सो कार्यक्रममा महानगर सहभागी नहुने जानकारी दिइन्।
पत्रकार सम्मेलनमा भरतपुर २१ का वडाध्यक्ष चित्रसेन अधिकारीले स्थानीय स्वयत्त शासनलाई संघीय सरकारले हस्तक्षेप गरेको बताए । उनले भने, ‘प्रतिनिधि सभा विघटन गरेको सरकारले शिलान्यास गर्दै हिँड्न मिल्दैन, यसको ठूलो मूल्य चुकाउनुपर्छ ।’ पत्रकार सम्मेलन भरतपुर महानगरका प्रवक्ता अरुणपीडित भण्डारीले सञ्चालन गरेका थिए ।