चितवन स्वरोजगार निर्माण संघको चौथो अधिवेशन सम्पन्न, नेतृत्वमा कृष्णबहादुर पौडेल चयन।

निर्माण क्षेत्रमा कार्यरत स्वरोजगार मजदुरहरुको सङगठन चितवन स्वरोजगार निर्माण संघले आजबाट नयाँ नेतृत्व पाएको छ । संघको सातौँ साधारणसभा तथा चौथो अधिवेशनबाट कृष्णबहादुर पौडेलको नेतृत्वमा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा मोसाफी राय यादव,सचिवमा गौतम नेपाली ,कोषाध्यक्षमा रामबहदुर मगर रहनु भएको छ । यसैगरी सदस्यमा भरत बहादुर सार्की, ज्ञानलाल शर्मा र धनिराम महतो चयन भएका छन।

शनिबार भएको सातौँ साधारणसभा तथा चौथो अधिवेशनमा उपस्थित निर्माण क्षेत्रमा कार्यरत मजदुरहरुले बजारमा निर्माण सामग्रीको मूल्य बढे पनि निर्माणसम्बन्धी काम गर्ने मजदुरको ज्यालादारी बढ्न नसक्दा काम गर्न गाह्रो भएको बताएका छन्।
पछिल्लो केही महिनायता छडको मूल्य प्रतिकिलो एकसय रूपैयाँभन्दा माथि पुग्दा मजदुरको ज्याला भने पुरानै रहेको चितवन स्वरोजगार निर्माण संघका अध्यक्ष शुक्रबहादुर मिजारले बताए।

समाजमा बेरोजगार समूहको अन्त्य गर्न चितवन स्वरोजगार निर्माण संघले ठूलो भूमिका खेलेको उनले बताए। तर, निर्माण क्षेत्रमा काम गर्नेहरुलाई आवश्यक तालिम नपाएको पनि उनले गुनासो गरे। कार्यरत क्षेत्रमा खटिने मजदुरहरुलाई दक्षता नहुँदा गुणस्तरीय काममा बाधा पुगेको समेत उनले बताए । हामीले गुणस्तरीय काम दिन सक्नुपर्छ,’ उनले भने, त्यसको लागि दक्षता चाहिन्छ।
चितवन निर्माण सेवा संघका अध्यक्ष कुलबहादुर राईले पछिल्लो समय कार्यरत मजदुरहरुले पनि संगठनको आवश्यकता महसुस गरेको बताए। संगठिन हुँदै गएपछि धेरैले आफ्नो हकअधिकारबाट बञ्चित हुनबाट बच्न सफल भएको उनको भनाइ छ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित निर्माण व्यवसायी एवम् नवजागृती सामुदायिक वन भोजाडका अध्यक्ष देवकुमार गुरूङले समाजमा गुणस्तरीय काम गर्न सुझाव दिए। गुणस्तरहीन कामले काम गर्ने मजदुर तथा ठेकेदारहरुलाई समाजले हेर्ने दृष्टिकोण सकारात्मक नरहेको हुँदा कामको गुणस्तरीयतामा ध्यान दिन उनले आग्रह गरे।