भरतपुर महानगरमा आजबाट एक हप्ता निषेधाज्ञा।

चितवन/भरतपुर महानगरपालिका क्षेत्र भित्र आजबाट सात दिन पूर्ण रुपमा लकडाउन गरिएको छ । महानगरमा आज भएको बिपद व्यवस्थापन समितिको आकस्मिक बैठकले एक हप्ता पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउन आज राति १२ बजेबाट सुरु हुनेछ ।
महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा भएको बैठकले कोरोनाको संक्रमण नियन्त्रण, प्रभावकारी उपचार, व्यवस्थापनका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।
महानगर भित्र कोरोना रोग तीब्र गतिमा बढेसँगै जोखिमलाई मध्यनजर गर्दै लकडाउनको आव्हान गरिएको प्रमुख दाहालले बताए।
भरतपुर महानगरपालिकाले निषेधाज्ञाको समयमा अत्यावश्यक सामग्री खरिद गर्नको लागि उपभोक्ताहरुलाई बिहान ५ देखि ८ आठ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्ममात्र समय दिइएको छ ।
महानगर प्रमुख दाहालद्वारा जारी गरिएको अपिलमा लामो दुरीका मालबहाक ढुवानीका साधन, दमकल, एम्बुलेन्स, शवबाहन, तरकारी, फलफूल तथा दूध ढुवानीको लागि प्रयोग भएका सवारी साधन पशुपक्षीको दाना बोक्ने साधन, खानेपानी, इन्धन ढुवानीका लागि प्रयोग हुने ट्यांकर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीले प्रयोग गर्ने साधनबाहेक सबै प्रकारका सवारी साधन चलाउन रोक लगाइएको जनाइएको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालयले पनि विज्ञप्ति जारी गरी निषेधाज्ञाको पूर्ण रुपमा पालना गर्न भरतपुर महानगरवासीलाई आग्रह गरेको छ ।
यता, आजै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईद्वारा जारी गरिएको विज्ञप्तिमा समेत रातीनिराती१२ बजेबाट सुरु हुने लक डाउनलाई अवज्ञा गर्नेलाई कारबाही गरिने जनाइएको छ ।
महानगरपालिका भित्र हालसम्म ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये पुरूष ७०, महिला २३ रहेका छन् । एक जनाको मृत्यु भएको छ । महानगरभित्र पछिल्लो ३ दिनमा २३ जना संक्रमित थपिएका छन् ।