नेपाल चलचित्र कलाकार संघद्धारा स्वर्गीय महिमाको परिवारलाई आर्थिक सहयोग


चितवन । नेपाल चलचित्र कलाकार संघद्धारा स्कुटर दुर्घटनामा परेर निधन भएकी स्वर्गीय अभिनेत्री महिमा सिलवालको परिवारलाई आर्थिक सहयोग गरेको छ । नेपाल चलचित्र कलाकार संघको युके च्याप्टर अध्यक्ष लिम्बु केसी रोमियनबाट संकलित २६ हजार र नेपाल चलचित्र विकास बोर्डको २५ हजार गरी ५१ हजार सहयोग गरिएको हो । संघको टोलीले भरतपुर महानगरपालिका वडा नम्बर १४ स्थित घरमा पुगेर उनको बुबालाई रकम हस्तारन्तण गरेको थियो । टोलीमा संघका अध्यक्ष रबिन्द्र खड्का, उपाध्यक्ष एवं प्रवक्ता मोहन निरौला , महासचिव चेतबहाद्र सिंह ूराजाू र केन्द्रीय सदस्य रामेश्वर बुर्लाकोटी टोलीले परिवार प्रति समवेदना प्रकट गरेका थिए । समवेदना प्रकट गर्दै अध्यक्ष खड्काले महिमाको निधनले चलचित्र क्षेत्रलाई अपुरणीय क्षती भएको बताए । महिमाले चलचित्र क्षेत्रलाई गरेको योगदानको स्मरण गर्दे खड्काले उनको प्रतिभाको कदर गरे । सो क्रममा बोल्दै संघका उपाध्यक्ष एवं प्रवक्ता मोहन निरौलाले यो सानो सहयोगले परिवारलाई केही राहत पुग्ने बताउंँदै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । सहयोग हस्तारणपछि संघले भरतपुर महानगरका प्रमुख रेनु दाहाललाई भेटेको थियो । भेटघाट कार्यक्रममा बोल्दै संघका महासचिव चेत बहादुर सिंहले महिमाको परिवारलाई आर्थिक सहयोग गरिदिन आग्रह गरेका थिए । संघको आग्रहलाई स्वीकार्दे दाहालले आर्थिक सहयोग गर्ने वचतबद्धता गरेकी छिन । स्वर्गीय महिमाले बिभिन्न म्युजिक भिडियोसँगै एक दर्जन भन्दा बढी चलचित्रमा अभिनय गरेकी थिइन । चलचित्र कारवाही चलचित्र मार्फत सिने क्षेत्रमा अभिनय यात्रा शुरु गरेकी महिमाको प्रदर्शन हुन बांँकी केही चलचित्र समेत रहेका छन । उनको माघ २९ गते काठमाडौंबाट चितवन आउने क्रममा धादिङ्गमा बसले उनको स्कुटरलाई दिदा उनकी बहिनी शर्मिला सहित उनको निधन भएको हो ।