चैत ५ गतेभित्र वार्षिक परीक्षा गराई ६ गतेबाट स्कुलहरु बन्द गर्ने तयारी

काठमाडौं /सरकारले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ भित्रै सम्पन्न गराई ६ गतेबाट देशभरका स्कुलहरु बन्द गर्ने तयारी गरेको छ । सरकारको आग्रहमा कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिई चालू शैक्षिक सत्रको कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा आगामी चैत ५ गतेभित्र सम्पन्न गर्नेगरी मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एन प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटाले राष्ट्रिय अन्तरराष्ट्रियस्तरमा उत्पन्न स्वास्थ्य सङ्कटलाई ध्यान दिएर सरकारले चैत ५ गतेभित्र वार्षिक परीक्षा सम्पन्न गराउने तयारी गरेको र आफुहरु सरकारको तयारी अनुरुप नै कक्षा ९ सम्मको बार्षिक परिक्षा केहीदिन भित्रै सञ्चालन गर्न लागीपरेको बताए ।  सबै स्थानीय तहमा एकै सातामा वार्षिक परीक्षा सम्पन्न गराउने गरी आगामी शैक्षिक सत्रमा पनि प्रबन्ध गर्नुपर्ने पनि उनले बताए ।

यसअघि चैत १३ गतेपछि विद्यालयहरुले बार्षिक परिक्षा गर्ने गरी तयारी गरेका थिए । मन्त्रालयले यसअघि विभिन्न मुलुकका लागि विदेश पढ्न जाने विद्यार्थीका लागि दिइने नो अब्जेक्सज लेटर तत्कालका लागि रोक्काको निर्णय गरेको थियो । माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)भने तोकिएकै मितिमा हुने छ ।