राज्यले करोडौंको लगानीमा सडक बनाउने, टिपरले भत्काउने, खोई कारवाही ?

रोल्पा । राज्यले करोडौंको लगानीमा निर्माण गरेको सहिद–मार्ग सडक सोनापुर सिमेन्ट उद्योगको चरम लापरबाहीका कारण अल्प समयमै जीर्ण बनेको छ। दाङमा रहेको सो सिमेन्ट उद्योगले चुनढुंगा निकासी गर्न सडकको क्षमताभन्दा धेरै भार बोकेका टिपरहरू कुदाउँदा घोराही हुँदै रोल्पा होलेरीसम्मको सडक कालोपत्रे गरिए पनि उक्किएर कच्ची सडकभन्दा पनि जीर्ण बनेको हो।

सिमेन्ट उद्योगका लागि वैकल्पिक मार्ग भए पनि त्यो प्रयोग नगरी टिपर चालकहरूले सहिद–मार्ग नै रोज्ने गर्छन्। सहिद–मार्गमा सोनापुर सिमेन्टका लागि दैनिक दुईदर्जन टिपर क्षमताभन्दा बढी भारको चुनढुंगा बोकेर कुद्ने गर्छन्। उद्योगले चुनढुंगा ओसार्न अर्को सडकको स्वीकृति ल्याएको भए पनि सहिद–मार्ग नै प्रयोग गरिरहेको छ। कालोपत्रे भएको १४ महिना नबित्दै टिपरका कारण सडक तहसनहस भए पनि मर्मत गर्नेतर्फ ध्यान दिइएको छैन।

साढे ३१ किलोमिटर दूरीको उक्त सडकमा यात्रा गर्न गाह्रो हुन थालेको छ। पहाडी घुम्ती उक्त सडकमा दर्जनौं स्थानमा ठूल्ठूला खाल्डा परेपछि सवारीचालक र यात्रु हैरान बनेका छन्। ‘सिल प्यासेफिक ज्वाइन्ट भेन्चर कम्पनी’ ले ४० करोड ८३ लाख रुपैयाँमा कालोपत्रे गर्ने जिम्मा लिएको थियो। यो सडक भारतीय एक्जिम बैंकको ऋण सहयोगमा गत वर्ष कालोपत्रे गरिएको हो। निर्माणको एक वर्षसम्म ठेकेदार कम्पनीले मर्मतको जिम्मा लिने सम्झौता भएकाले सम्झौता अवधिमै सडक अस्तव्यस्त भएपछि हस्तान्तरणसमेत हुन सकेको छैन।

दर्जनौं स्थानमा भत्किएको र उक्किएको यो कालोपत्रे सडक कतिपय ठाउँमा कच्ची सडकभन्दा पनि कमसल देखिन थालेको छ। सहिद–मार्ग सडक योजना कार्यालयका अनुसार होलेरी क्षेत्रमा सिमेन्ट कारखानाका टिपरहरूले ओभर–लोड बोकेर दौडने गरेका कारण कालोपत्रे नटिकेको हो। ‘कालोपत्रे गरिएको यो सडक निर्माण व्यवसायीले हामीलाई बुझाउने बेला भएको छ तर सम्झौताअनुसारको नभएपछि हामीले बुझेका छैनौं,’ सहिद–मार्ग सडक योजना प्रमुख विष्णुबाबु पाण्डेले भने, ‘वास्तवमा क्षमताभन्दा बढी लोड बोकेर टिपरहरू कुद्न थालेपछि सडकले भार थेग्न नसकेको हो। उद्योगले वैकल्पिक मार्ग प्रयोग गरे हुन्थ्यो। हामीले उद्योगलाई पनि पत्राचार गरेका छौं।’ उनका अनुसार टिपर नचलेको ठाउँको सडक गतिलो छ तर चुनढुंगा निकासी गर्ने स्थानसम्मका प्रायः सबै घुम्तीमा सडक बिग्रिएको छ।

सडक कालोपत्रे गर्ने जिम्मा पाएको सिल प्यासेफिक ज्वाइन्ट भेन्चर कम्पनीका ठाकुर कँडेलले नागरिकसँग कुरा गर्दै सिमेन्ट कारखानाका टिपरका कारण आफू दिक्क भएको बताए। ‘सिमेन्ट उद्योगका टिपरले सडक क्षमताभन्दा ४० प्रतिशत बढी भारी बोकेर कुद्छन्। दाङ र रोल्पाका प्रमुख जिल्ला अधिकारीसँग बसेर उद्योगले हस्ताक्षर गरेको भए पनि अत्यधिक लोड बोक्न छोडेका छैनन्,’ कँडेलले भने, ‘सिमेन्ट उद्योग कानुनको दायरामा नआउँदासम्म सडक राम्रो बन्दै–बन्दैन। तीनपटक मर्मत गरिसक्यौं, अझै कति पटक गर्नु रु अब अदालतसँग न्याय खोज्नुको विकल्प छैन।’ नागरिक दैनिकबाट।