डीआईजी संख्या घटाउने गृहको तयारी : प्रहरी प्रधान कार्यालय बेखबर

काठमाडौं/गृह मन्त्रालयले नेपाल प्रहरीको नायब महानिरीक्षक (डीआईजी) को संख्या घटाउन तयारी थालेको छ । गृह स्रोतका अनुसार हाल कायम रहेका ३४ जना डीआईजी (प्राविधिकसहित) को दरबन्दीमध्ये केही संख्या घटाउने विषयमा मन्त्रालयले छलफल अघि बढाएको हो ।

‘केही डीआईजीको संख्या घटाउने भन्ने विषयमा छलफल भइरहेको छ, हाल कायम रहेको संख्यामा केही घट्न सक्छ । तर, निर्णय भने भइसकेको छैन,’ गृह स्रोतले राजधानीसँग भन्यो । मन्त्रालयले एकाएक डीआईजी संख्या घटाउने गरी तयारी थालेपछि प्रहरी प्रधान कार्यालय भने त्यसको असर सिंगो प्रहरी संगठनमा पर्ने भन्दै रुष्ट देखिएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी (प्रस्तावित एआईजी) शैलेश थापा क्षेत्रीले सो विषयमा प्रहरी प्रधान कार्यालयलाई जानकारी नभएको प्रतिक्रिया दिए । ‘त्यो विषयमा हेडक्वार्टरलाई जानकारी छैन,’ उनले राजधानीसँग भने । स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयसँग छलफल नै नगरी गृह मन्त्रालयले बढीमा १० वटा डीआईजी पद खारेज गर्ने तयारी गरेको छ । हाल नेपाल प्रहरीमा २२ डीआईजी पद रिक्त छ ।

प्रधान कार्यालयले भने डीआईजी संख्या घटाउन नहुने भन्दै अडान लिँदै आएको छ । प्रधान कार्यालयले संख्या घटाउने निर्णयले सिंगो प्रहरी संगठनमा असर पर्ने तर्क गरेको छ । मन्त्रालयले भने धेरै डीआईजी हुँदा राज्यलाई आर्थिक भार बढी पर्ने र नयाँ प्रहरी ऐनअनुसार समायोजनमा जाँदा धेरै डीआईजी नचाहिने भन्दै आवश्यकताअनुसार मात्रै राख्नेतर्फ छलफल गरिरहेको छ ।

हाल रिक्त रहेको डीआईजी पदका लागि एसएसपीहरू धनश्याम अर्याल, पुरुषोत्तम कणेल, गणेशबहादुर ऐर, वसन्त पन्त, प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की, राजेशलाल कर्ण, दिलिप चौधरी, देवबहादुर बोहोरा, रामकृपाल साह, उत्तमराज सुवेदी, धीरजप्रताप सिंह, वसन्तकुमार लामा, दिवेश लोहनी, रवीन्द्र धानुक दाबेदार देखिएका छन् ।

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।