प्रतिपक्षको भुमिकामा चुक्दैं काँग्रेस

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले शनिबार संघीय संसद्मा सम्बोधन गर्ने क्रममा प्रमुख प्रतिपक्ष कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाप्रति कटाक्ष गरे । ‘कम्युनिस्ट सरकार आयो भने रुन पनि पाइन्नँ’ भनेर चुनावताका देउवाले दिएका अभिव्यक्तिप्रति उनले व्यंग्य गरे ।

आफ्नो नेतृत्वको सरकारलाई अधिनायकवादीको बिल्ला भिराएर अन्तर्राष्ट्रियकरण गर्न खोजिएकामा उनको असन्तुष्टि झल्कियो । त्यसक्रममा प्रधानमन्त्रीले कांग्रेसले अपनाउँदै आएका केही सैद्धान्तिक मान्यताको व्याख्या र सरकारले गरेका उपलब्धिलाई केही होइन भनेर प्रचार गरिएका प्रसंगलाई तथ्यांकसहित प्रतिवाद गर्ने प्रयास गरे ।

सरकारले गरेका उपलब्धिलाई प्रतिपक्षले गलत प्रचार गरेर जनतामा भ्रम छरेको उनको दाबी छ । ओलीले कांग्रेसलाई आलोचना गर्ने तथा आफ्ना कमजोरी देखाएर उम्कने प्रयास गरे पनि प्रमुख प्रतिपक्ष दुई वर्षमा सत्ताकै सहयोगीजस्तो बन्न पुग्यो ।

खासगरी कांग्रेस नेतृत्वमा अनियमितता र भ्रष्टाचारका मुद्दामा अनौठो मौनता छ । त्यसको एउटा उदाहरण हो, वाइडबडी जहाज खरिद प्रकरण । आफ्नै पार्टीको नेतृत्वमा रहेको प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले रकम किटानीसहित भ्रष्टाचार भएको ठहर गर्दा समेत कारबाहीका लागि कांग्रेसले सदन तताउन सकेन ।

सर्लाहीमा प्रहरीले नियन्त्रणमा लिई कथित मुठभेडका नाममा कुमार पौडेलको हत्या र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मागमा राष्ट्रिय जनता पार्टीसँग मिलेर कांग्रेसले लामो समय सदन अवरुद्ध पार्‍यो । ललितानिवास प्रकरणमा आफ्ना नेता विजयकुमार गच्छदारलाई पूर्वाग्रही ढंगले मुद्दा लगाइएको आरोपमा तीन दिन संसद् अवरुद्ध गरियो ।

आफ्ना पार्टीका नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापित अस्पताललाई केन्द्र मातहतबाट हटाएको विरोधमा केही समयअघि संसद् अवरुद्ध पार्‍यो तर चार अर्ब रुपैयाँभन्दा बढीको भ्रष्टाचार किटान भएको वाइडबडी खरिद मुद्दामा कांग्रेसले सार्वजनिक खपतका लागि हल्का टीकाटिप्पणीमा मात्रै आफने भूमिका सीमित पार्‍यो ।

एउटै पार्टीको बलियो सरकारको नेतृत्व गरेका प्रधानमन्त्री ओलीलाई प्रतिपक्षबाट समेत अनुकूल स्थिति खडा भयो । संसद् र सडकमा बलियो प्रतिपक्षको सामना उनले गर्नु परेन । बरु, बेलाबखत सत्ता र प्रतिपक्षको भूमिका आफ्नै दलबाट झल्कन्थ्यो । त्यस्तो बेला प्रतिपक्ष कांग्रेसलाई खोज्न ऊ बसेको प्रतिपक्षी बेन्चतिर हेर्नुपर्ने स्थिति खडा भयो ।

खासगरी भ्रष्टाचार र अनियमितता मुद्दामा कांग्रेसको भूमिका सदन र सडक दुवै मोर्चामा कमजोर देखियो । सरकारमाथि निगरानी बढाउन भनेर कांग्रेसले छाया सरकारसमेत बनायो तर छाया सरकार गठनमै सीमित भयो । कांग्रेसभित्रै सदन र सडकलाई प्रभावकारी बनाउन नसकेको आरोप देउवाले दुई वर्षदेखि नै खेप्दै आएका छन् । पार्टीबाहिर समेत यही विषयलाई लिएर उनको आलोचना जारी छ । नागरिक समाज र कांग्रेस निकट बुद्धिजीवीहरूले बारम्बार प्रश्न उठाउँदै आएका छन् ।

देउवा समूहका नेताहरू त्यसको बचाउमा छन् । आरोपको प्रतिवाद गर्छन् तर कांग्रेसका संस्थापनइतर पक्षीय नेताहरूले सडक र पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा यो मुद्दा निरन्तर उठाउँदै आएका छन् । तैपनि पार्टी सभापतिसमेत रहेका संसदीय दलका नेता देउवाको भूमिकामा भने यो दुई वर्ष कुनै बदलाव देखिएन । बाह्य जगत् र सामाजिक रूपमा उठ्ने टीकाटिप्पणी र प्रश्नले उनलाई छुँदैन तर यसको असर पार्टी संगठनमा भने परेको छ ।

सरकारका बेथिति, अनियमिततालाई लिएर सदनमा मीनेन्द्र रिजाल, गगन थापा, दिलेन्द्र बडू, पुष्पा भुसाल, मीन विश्वकर्मासहित केही सीमिति सांसदहरूले सरकारविरुद्ध प्रश्न नउठाएका पनि होइनन् तर दलका नेताकै भूमिकाले उनीहरूलाई पनि खुम्च्याएको छ । संख्यात्मक रूपमा मात्रै कांग्रेस कमजोर भएर सदनमा प्रभावकारी नभएको तर्क मान्न कांग्रेस नेताहरू भने तयार छैनन् ।

‘संसदीय प्रणालीमा सदन प्रतिपक्षको हो, प्रतिपक्षले सदनलाई आफ्नो काबुमा राख्नका लागि दलको नेता प्रभावकारी बन्नुपर्ने रहेछ,’ सदनमा दुई वर्षका अनुभवबारे एक नेता भन्छन्, ‘शरीर, हातखुट्टा चलेर मात्रै नहुने, मुख्य त टाउको नै रहेछ । टाउको नचलेपछि त्यसले सही दिशा पक्डन सक्दोरहनेछ ।’

प्रतिपक्षी कांग्रेसका लागि दुई वर्षका मुद्दा के मात्रै थिएनन्, वाइडबडी तथा न्यारोबडी जहाज खरिद प्रकरण, ललितानिवास जग्गा प्रकरण, यति होल्डिङ्स, ३३ केजी सुन, संविधानका मर्मविपरीत धमाधम ल्याइएका विधेयकलगायत दर्जनौं मुद्दा छन् तर यी मुद्दामा प्रतिपक्षको मुख्य चासो बन्दैन ।

शनिबार संसद्कै भूमिका हेरौं, प्रधानमन्त्रीले आफ्नो दुईवर्षे कार्यकालको उपलब्धि सुनाइसकेपछि प्रधानमन्त्री–सांसद प्रश्नोत्तर चल्यो । देउवानिकट नेत्री चित्रलेखा यादवले सरकारका बेथितिमाथि प्रश्न गर्न सकिनन् । शुक्रबार राति घरमा एकछिन बिजुली बत्ती गएको विषयमा प्रधानमन्त्रीसँग जबाफ मागिन् । यो एउटा प्रतिनिधि उदाहरण हो ।कान्तिपुर दैनिकमा खबर छ । कान्तिपुर दैनिकबाट