तोकेको समयमा लाग्दैन फोन

काठमाडौँ/ फागुन ४ गते/भ्वाइस सेवाका लागि नियामकले निर्धारण गरेको मापदण्ड पूरा गर्न सेवा प्रदायकहरू करिब असफल देखिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले चलायमान सवारीसाधनमा उपकरणको माध्यमबाट गरेको ‘ड्राइभ टेस्ट’ले तोकेको समयभित्र सेवा प्रदायकको फोन कल स्थापना हुन नसकेको देखाएको हो ।
दमक नगरपालिका र इलाम नगरपालिकामा पुसको अन्तिममा देशका प्रमुख सेवा प्रदायकहरू नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको भ्वाइस सेवा परीक्षण गरिएको थियो ।
प्राधिकरणले पाँच सेकेन्ड अथवा सोभन्दा कम समयभित्र फोनकल स्थापना हुनुपर्ने मापदण्ड तोके पनि दमकमा नेपाल टेलिकमको ९।३६ सेकेन्ड, एनसेलको ६।४५ र स्मार्ट टेलिकमको ८।०२ सेकेन्डमा मात्रै कल स्थापना भएको छ । इलाममा नेपाल टेलिकमको ९।५७ र एनसेलको ७।५८ सेकेन्डमा कल स्थापना भएको पाइएको छ ।
फोन गर्ने व्यक्तिले फोन गरेको समय र प्राप्त गर्नेकोमा सूचना प्राप्त हुने समयबीचको अवधिलाई फोनकल स्थापना हुन लाग्ने समयका रूपमा गणना गरिन्छ । फोनकल स्थापना हुने दर ९९ प्रतिशत हुनुपर्नेमा परीक्षणमा नेपाल टेलिकमको ९७ प्रतिशत, एनसेलको ९६।९७ प्रतिशत र स्मार्ट टेलिकमको ९४ प्रतिशत मात्र दर मापन भएको छ । यस्तो दर इलाममा नेपाल टेलिकमको ९८।९४ प्रतिशत र एनसेलको ८१।२५ प्रतिशत रहेको छ ।
आफैँ फोन कल विच्छेद हुने दर दुई प्रतिशतभन्दा कम हुनुपर्ने मापदण्ड रहेकोमा दमकमा नेपाल टेलिकमको १।०३ प्रतिशत छ । त्यस्तै, इलाममा १।०८ प्रतिशत रहेको छ । यो परीक्षणमा नेपाल टेलिकम सफल भएको छ ।
त्यस्तै, दमकमा एनसेलको २।०८ र स्मार्ट टेलिकमको २।१३ प्रतिशत फोन विच्छेद हुने दर पाइएको छ । इलाममा एनसेलको यस्तो दर ८।९७ प्रतिशत रहेको छ । परीक्षण अवधिभर दमकमा नेपाल टेलिकमबाट एक सय, एनसेलबाट ९९ र स्मार्ट टेलिकमबाट एक सय पटक फोन कल प्रयास गरिएको थियो । त्यस्तै, इलाममा नेपाल टेलिकमबाट ९४, एनसेलबाट ९६ पटक कल प्रयास गरिएको थियो ।  फोन सेवा प्रदायकको आफ्नै नेटवर्कभित्र मात्र गरिएको प्राधिकरणले जनाएको छ । गोरखापत्रबाट