कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेको संख्या १०६ पुग्यो

एजेन्सी/कोरोना भाइरसका कारण १०६ जनाको मृत्यु भएको चिनियाँ अधिकारीहरुले बताएका छन्। चीनमा यो भाइरसबाट ४ हजार भन्दा बढी मानिस सङ्क्रमित भएका छन्।

भाइरसलाई फैलिनबाट रोक्न चीनमा यातायात आवागमनमा थप कडाइ गरिएको छ। चीनका केही मुख्य सहरहरुमा सार्वजनिक यातायात बन्द गरिएका छन् र नयाँ वर्षको बिदा तीन दिन थपिएको छ।

भाइरस सुरु भएको वुहान सहर र त्यो सहर रहेको हुबे प्रान्तको अधिकांश स्थान बन्द जस्तै रहेको बीबीसीले जनाएको छ।

चीनभन्दा बाहिर पनि यसको सङ्क्रमण फैलिएको छ र मङ्गलवारसम्म कम्तीमा १६ देशमा ४७ सङ्क्रमणका घटना फेला परेका छन्।

चीन सरकारले आफ्ना नागरिकहरुलाई विदेश नजान आग्रह गरेको छ। अमेरिकाले पनि आफ्ना नागरिकहरुलाई चीन यात्राबारे पुर्नविचार गर्न र हुबे प्रान्तमा यात्रा नगर्न सुझाएको छ।