आजबाट फेरी देशभर मौसम बदलीने, वर्षा र हिमपात हुने


काठमाडौं । पश्चिमी वायुको प्रभावले फेरि देशैभरीको मौसम प्रभावित बन्ने भएको छ । भू–मध्य सागरबाट सोमबार अपरान्ह्र भित्रिएको जलवाष्पयुक्त वायु (हावामा पानीको अंश) ले बुधबार देशैभर हिउँदे वर्षा र हिमपात हुँदैछ ।

भू–मध्य सागर र अरब सागरको वायुको दोहोरो मिश्रणले मध्य र सुदुर पश्चिमका उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार साँझदेखि नै सुदुरपश्चिमका उच्च पहाडी र हिमाली भेगमा हिमपात सुरु भइसकेको महाशाखाकी मौसमविद् मञ्जु बासीले बताइन् ।

‘अहिले भित्रिएको वायुको असर त देशैभरी नै देखिन्छ तर केही बढी असर भने पश्चिमी भेगमा पर्नेछ, पश्चिममा अहिले साँझदेखि नै असर शुरु भइसक्यो’, महाशाखाकी मौसमविद् मञ्जु बासीले भनिन् ।

अहिले भित्रिएको वायुको आंशिक प्रभाव आज मंगलबार मध्य र पूर्वी भेगमा आंशिक प्रभाव पर्ने र आज सबैभागमा फैलिने र त्यसको प्रत्यक्ष÷अप्रत्यक्ष असर बिहिवारसम्म रहने उनले प्रष्ट्याइन् । डेढ साता अघिको जस्तो निरन्तर झरीको संभावना भने नरहेको महाशाखाका अधिकारी बताउँछन् ।

हिउँदे झरी र हिमपात गराउने भू–मध्य सागरको वायु इरान, अफगानिस्तान, पाकिस्तान, भारतको जम्मु काश्मीर हुँदै भित्रिने गर्छ । विज्ञहरुका अनुसार भू–मध्य सागरको वायु जति कम उचाई हुँदै बहन्छ त्यसले अरब सागरको वायुलाई समेत दक्षिण एसियाली मुलुकतर्फ धकेल्न सघाउ पुर्‍याउँछ ।

दुवै सागरको वायुमा पर्याप्त जलवाष्पको मात्रा भएपछि मौसम धुमिने र हिउँदे झरी गराउने उच्च सम्भावना रहन्छ । पश्चिमी वायु जमिनको सतहबाट साढे पाँच किमी वा सो भन्दा कम उचाइ दुरी हुँदै बहेमा वर्षा र हिमपातको संभावना उच्च रहने गर्छ ।