नेपाली कागती बारीमै कुहिए, बजारमा भारतीय कागतीको बिगबिगी

शिशिर सिंखडा, चितवन /भारतीय कागतीको कारण नेपालमा उत्पादन भएका कागतीहरु बारीमै कुहिन थालेका छन् । चितवनको विभिन्न स्थानमा किसानहरुले लगाएको ‘सुन कागती’ विक्री हुन सकेको छैन ।भारतबाट आयात हुने सोही सुनकागती भने नेपाली बजारमा विक्री भइरहेको छ । चितवनका मुख्य बजारहरुमा कागतीको थोक विक्रेताहरुले नेपाली कागतीलाई प्राथमिकता नदिएको कारण सोही एकै जातको कागती पनि विक्री हुन नसकी बारीमा नै पहेलो भई कुहिन थालेको कालिका वडा नं। ६ खोलेसिमलका किसान कृष्ण प्रसाद दाहालले बताए ।

चितवनका मुख्य बजार नारायणगढ र काठमाडौँमा पनि नेपाली कागतीले बजार पाउन सकेको छैन । अधिकाँश कागतीका व्यापार गर्ने ठूला व्यापारीहरु भारतीय रहेको र उनीहरुले भारतबाट आयातित कागतीलाई मात्र प्राथमिकता दिँदा यहाँका किसान समस्यामा परेको उनले बताए । चितवनमा कागतीको होलसेल बजार मूल्य करिव १ सय ५० रुपैया प्रतिकिलो भएपनि नेपाली कागती ५०र६० रुपैयामा पनि विक्री हुन नसकेको उनको गुनासो छ ।

स्थानीय किसानले उत्पादन गरेको कागतीले बजार नपाउँदा किसानहरुको लाखौको लगानी जोखिममा परेको कागती किसान सि।पी। अधिकारीले बताए । उनले पूर्वी चितवनको कालिका र रत्ननगरमा करिव ३ बिगाहामा कागती खेती गर्दै आएका छन् ।

कागती किसान दाहाल र अधिकारी प्रतिनिधि किसान मात्र हुन । उनीहरु जस्ता सयौँ किसानले लगाएको कागतीले बजार नपाई बारीमै ओइलिनु परेको छ । चितवनको ठिमुरा, जमुनापुर, खोलेसिमल र रत्ननगर क्षेत्रमा सहित करिव ३० बिगाहा भन्दा बढी क्षेत्रमा कागती खेती हुँदै आएको छ ।