‘पीएचडी’ सामाजिक पहिचान र अवसर हत्याउने हतियार

काठमाडौँ । पुस दोस्रो साता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा एकजना उपप्राध्यापकले विद्यावारिधि ९पीएचडी० उपाधिका लागि अन्तिम भाइभा दिए । त्यो क्षणको तस्बिर उनको फेसबुकको भित्तामा छ ।

त्यसलगत्तै तिनै उपप्राध्यापकले आफ्ना वरिष्ठ गुरुहरूलाई राखेर उत्सव मनाएको फोटोसमेत पोस्ट गरेका छन् ।देशकै ‘वरिष्ठ’ प्राध्यापकहरूका माझ खादा ओढेर उनी हँसमुख देखिएका छन्। तस्बिरमा अस्वाभाविक दृश्य बधाई दिने प्राध्यापकहरूको अग्रभागको टेबलमा ‘ह्वीस्की’ र ‘वाइन’ का बोतल, थर्मस, पानीको बोतल र यत्रतत्र छरिएका प्लेट देखिन्थ्यो। मुनि लेखिएको थियो– ‘अ मोमेन्ट अफ सेलिब्रेसन (एक उत्सवको क्षण)।’ त्यसमुनि ‘डाक्टर बन्नु भएकामा बधाई’ शब्द ओइरिएका छन्।

ती उपप्राध्यापकले पीएचडीको उपाधि पाउन गर्न अर्को वर्षको पुस महिना कुर्नुपर्ने छ। कहर काटेर पीएचडी उपाधिका निम्ति भाइभा उत्तीर्ण गर्नेमध्ये यी उपप्राध्यापक एक उदाहरण मात्र हुन्। अर्कोतर्फ विद्यावारिधि शोध कार्यमा आधा दशकदेखि निरन्तर जुटिरहँदासमेत उपाधि पाउन सकेका छैनन्। स्वतन्त्र रहेर पीएचडी शोधमा जुटेकाहरूलाई झनै सकस पर्ने गरेको शोधार्थी बताउँछन्। त्रिविको हालै सम्पन्न ४५ औं दीक्षान्त समारोहमा ८५ जनाले पीएचडी उपाधि हासिल गरेका छन्।

त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत एकजना ६ वर्षदेखि पीएचडीकै धुनमा समय बिताएका छन्। ‘अब चाहिँ भाइभामा डाक्छन् कि’ भन्ने झिनो आशामा छन्। त्यसैले नाम भनिहाल्दा अप्ठ्यारो हुने ठान्छन्। ‘तीन वर्षमा अनुसन्धान पूरा गरियो, शोधकार्यलाई र पटक–पटक सुपरभाइजरलाई जाँच्न दिइयो,’ अनुसन्धानरत एक शोधार्थीले भने, ‘विद्यावारिधि शोधकार्यमा जुटेको छैटौं वर्ष भइसक्यो। सम्बन्धित विषय विज्ञ छैनन्।

जो खटाइएका छन् उनीहरू अन्तर्राष्ट्रिय सिद्धान्त, अनुसन्धानप्रति ज्ञान राख्दैनन्। अंग्रेजी बुझ्दैनन्। पीएचडी भनेको दर्शनको स्तर हो तर भिलेज प्रोफाइलजस्तै मात्र सोच्छन्। कहिले यो भएन, त्यो भएन भन्छन्। त्रिविमा सारा थेसिस लुकाएका हुन्छन् किनभने त्यसमा ज्ञान होइन सूचनामात्र हुन्छ।’

उनीजस्तै, अर्का पीएचडी शोधार्थी काठमाडौंको एक होटलमा भेटिए। छेउमै थिए, उनका शोध निर्देशक र अर्का विषयसँग सम्बन्धित प्राध्यापक। पीएचडी शोधको मेसो चलेको आधा दशक चल्दै छ। ‘शोधकार्य छँदै छ, गुरुले जसो भन्यो नमानेर धर पाइँदैन,’ उनले सुटुक्क भने, ‘कहिले यहाँ, कहिले कता आइज भन्छन्। भेटेर खुवाउँदै हैरान भइसकियो। पीएचडी चाँडै भइदिए केही मौका जुर्ला भन्ने आशाले जुलुम हुने स्थिति छ।’ कान्तिपुर दैनिकमा समाचार छ ।