वन्यजन्तुमा क्षयरोग :  एक वर्षमा ५ हात्ती मरे

हात्तीको परीक्षण पनि मानिस जाँच्ने प्रयोगशालामै

वसन्त पराजुली/चितवन/सौराहाको खोरसोरस्थित हात्ती प्रजनन केन्द्रमा गत पुुस ८ गते ३८ वर्षको पूजाकली नामक पोथी हात्ती म(यो । २०३८ सालमा जन्मिएकी पूजाकली मर्नुको कारण निकुञ्जले अझै सार्वजनिक गर्न सकेको छैन । तत्काल पोस्टमार्टममा खटिएका चिकित्सकहरूको आधार मान्ने हो भने पूजाकलीलाई क्षयरोग भएको थियो ।

‘फोक्सो बिग्रिएको थियो । पीप भरिएको थियो । यो क्षयरोगको लक्षण हो’, निकुञ्जका पशु चिकित्सक डा. विजय श्रेष्ठले भने, ‘कहिलेकाहीँ निमोनियामा पनि यस्तो देखिन्छ । यसको निक्र्योलका लागि ल्याब टेस्ट गर्न पठाएका छौँ ।’ मरेको हात्तीको पोस्टमार्टम गर्ने चिकित्सकमध्ये एक हुन्, डा. श्रेष्ठ ।

त्यही हात्तीको पोस्टमार्टममा खटिएका नेपाल प्रकृति संरक्षण कोष सौराहाका पशु चिकित्सक डा. अमिर सडौला पनि त्यो हात्ती मर्नुका कारण क्षयरोग नै भएको शंका गरे । ‘परीक्षण गरेर हेर्दा हामीलाई क्षयरोग नै हो भन्ने लागेको छ । प्रयोगशालाबाट यसको पुष्टि हुन जरुरी छ’, उलने भने ।

पछिल्लो एक वर्षमा चितवन निकुञ्जमा पाँचवटा हात्ती मरेका छन् । २०७५ पुस २५ यता शमशेरकली, उमाकली, भोलाप्रसाद, मोतीप्रसाद र पूजाकली मरेका हुन् । तर, अहिलेसम्म यी हात्ती के कारणले मरे भनेर निकुञ्जले सार्वजनिक गरेको छैन । यस्तै विगत डेढ वर्षमा निकुञ्जमा ४९ वटा गैँडा मरेका छन् । पछिल्लो आइतबार विद्युतीय धरापमा परेर मरेको आठ वर्षीय भाले गैँडाबाहेक अन्य सबै कालगतिले मरेका निकुञ्जले बताउँदै आएको छ ।

कालगतिमा पनि के कारणले मरे भन्ने जवाफ निकुञ्जसँग छैन । तर, सन् २०१५ मार्च १ मा निकुञ्जको पश्चिमी क्षेत्र अमलटारीमा मरेको १८ वर्षीय पोथी गैँडामा क्षयरोगको संक्रमण भेटिएको चिकित्सक डा.सडौला बताए । यो समाचार आजको गोरखापत्रमा छ ।