फिनल्याण्डमा जागिरेका लागि प्रधानमन्त्रीको प्रस्तावः दिनमा ६ घण्टा, हप्तामा चार दिन काम


फिनल्याण्डकी प्रधानमन्त्रीले आफ्नो देशमा कामको लचिलो तालिका सुरु हुनुपर्ने बताएकी छिन् । उनको लचिलो तालिकामा दिनमा ६ घण्टा र हप्तामा चार दिनमात्रै काम गर्नुपर्ने नियम लागु हुनेपर्ने प्रस्ताव छ ।

फिनल्याण्डकी नव नियुक्त प्रधानमन्त्री ३४ वर्षीया सन्ना मरिनले यो नियम लागु भए कामदारले परिवारसँग धेरै समय व्यतित गर्ने मौका पाउने बताएकी छिन् ।

सन्ना एक सन्तानकी आमा हुन् ।

उनले भनिन्, ‘मानिसहरुले आफ्नो परिवार, मनपरेका व्यक्ति, आफ्नो इच्छा, आकांक्षा र जीवनका विभिन्न पाटोसँग पर्याप्त समय व्यतित गर्न पाउनुपर्छ ।’

‘जागिरे जीवनमा परिवर्तन ल्याउनका लागि यो हाम्रो नयाँ कदम हुनसक्छ ।’

मरिन प्रधानमन्त्री बन्नुअघि उनी फिनल्याण्डकी यातायात मन्त्री थिइन् ।

त्यतिबेला पनि उनले कर्मचारीको उत्पादन क्षमतामा विकास गर्न हप्तामा थोरै समयमात्रै काम गर्ने नियम लागु हुनुपर्ने माग राखेकी थिइन् ।

फिनल्याण्डमा अहिले दिनमा आठ घण्टा र हप्तामा पाँच दिन काम गर्नु सामान्य हो ।

मरिनको यो प्रस्तावलाई शिक्षामन्त्री ली एन्डरसनले तत्काल समर्थन गरिन् ।

उनले भनिन्, ‘फिनिस नागरिकलाई कम काम गर्न लगाउनु निकै महत्वपूर्ण छ । यो नारीवादी शैलीमा देश हाँक्नु होइन । यो मानिसहरुलाई सहयोगका लागि प्रस्ताव गर्नु हो र मतदातालाई दिएको वचन पूरा गर्नु हो ।’

छिमेकी स्विडेनमा सन् २०१५ देखि दिनमा ६ घण्टा काम गर्ने नियम लागू भइसकेको छ । यसो गरेबापत् कर्मचारी निकै खुसी र सुखी भएको र उनीहरुको कार्यक्षमतामा वृद्धि भएको अनुसन्धानले पुष्टि गरिसकेको छ ।

गत नोभेम्बरमा माइक्रोसफ्ट जापानले नीजि र व्यवसायिक जीवनमा सन्तुलनका लागि कर्मचारीलाई हप्तामा तीन दिन बिदा दिने नियम लागू गरेको छ ।

फलस्वरुपः कार्य सम्पादनमा ३९.९ प्रतिशतको बढोत्तरी पाइयो ।