प्रहरीलेआतंकवादी खोज्दा सुन तस्कर भेटिए


काठमाडौं । नेपालमा आतंकवादी छिरेको सूचना पाएर विमानस्थलमा खटिएको प्रहरीले वषौंदेखि सुन तस्करी गरिरहेका भारतीय नागरिकलाई पक्राउ गरेको छ।
नेपालमा अन्तर्राष्ट्रिय आतंकवादी छिर्दैछन् भन्ने सूचनालाई पछ्याउँदै जाँदा नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले सुन तस्कर महोम्मद जिसानलाई पक्राउ गरेको हो। उनी भारतीय नागरिक भएकाले प्रहरीले सार्वजनिक गरेको छैन। मुजाहिद्दिन आतंकवादी नेपाल छिरेका छन् भन्ने सूचना पाएपछि परिचालित भएको प्रहरी टोलीले उनलाई फेला पारेको हो। प्रहरीले औपचारिकरुपमा उनलाई सुन तस्करका रूपमा प्रस्तुत गरेको भने छैन।
उनको गतिविधि शंकास्पद रहेको जनाएको छ। विशेष ब्युरोले सोह्रखुट्टे प्रहरी वृत्तमा बुझाएको भए पनि सोह्रखुट्टे प्रहरीले जिसान आफ्नो हिरासतमा नरहेको बताएको छ। ‘विशेष व्यूरोले धेरै मानिस ल्याइरहेको हुन्छ कहिले को ल्याउछ कहिले को ल्याउछ हामी त राखिदिने मात्रै हो अनुसन्धान उतैबाट हुन्छ’, वृत्त प्रमुख डिएसपी सन्तोषसिंह राठौरले भने। मंसिर २९ गते विमानस्थलमा झरेका जिसानलाई ३० गते सोह्रखुट्टे प्रहरीमा बुझाएको थियो।
प्रहरीले तयार पारेको प्रारम्भिक विवरणमा भने उनी सुन तस्कर भएको उल्लेख छ। पक्राउ परेका महोम्मद जिसानले दुबईमा बस्ने भारतीय नागरिकबाट सुन संकलन गरेर नेपालको बाटोबाट लैजाने गरेको उल्लेख छ । आजको नागरिक दैनिकमा खबर छ ।