घर बहालमा लगाउदै हुनुन्छ ? अब बिबरण बुझाउनुपर्नेछ, फेरी फस्नुहोला है ।

काठमाडौं । घर बहालमा लगाउदै हुनुन्छ ? अब बिबरण तपाईले आफ्नो घरमा बस्नेहरुको बिबरण प्रहरीमा बुझाउन पर्नेछ । सरकारले घर भाडामा दिने घरबेटी मार्फत भाडामा बस्नेहरुको विवरण खोज्ने तयारी गरेको छ । पछिल्लो समय राजधानी काठमाडौंसहित देशका मुख्य शहरी क्षेत्रमा भाडामा बस्नेहरु मार्फत आपराधिक गतिविधि बढेको निश्कर्षसहित सरकारले घरबेटीमार्फत नै घर भाडामा लिएर बस्नेहरुको विवरण खोज्ने तयारी गरेको हो ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा मंगलबार गृह मन्त्रालयमा बसेको बैठकमा सो बारे छलफल भएको हो । गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसमेत सहभागी बैठकमा गृहमन्त्री थापाले राजधानीसहित शहरी क्षेत्रमा आपराधिक गतिविधि बढेको विषयमा सरकारको ध्यानाकर्षण भएको बताएका थिए ।
‘सहरी क्षेत्रमा घरभाडा लिएर विभिन्न व्यक्ति र समूहले आपराधिक गतिविधि गरिरहेको र पछिल्लो समय गतिविधि बढेको विषयमा बैठकमा छलफल भयो, अब घरबेटी मार्फत भाडामा बस्नेहरुको विवरण राख्नेतर्फ तयारी अघि बढाउन भनिएको छ,’ गृहका प्रवक्ता केदारनाथ शर्माले भने ।

विवरणमा घरभाडामा दिँदा र लिँदा भाडामा बस्ने व्यक्ति, संस्था, कार्यालयको परिचय खुल्ने कागजात सहित फोन नम्बर समेत भएको विस्तृत विवरण एवं घर छाडेको भए सो को समेत विवरण समेत नजिकको स्थानीय प्रहरी कार्यालयमा घरबेटीले दिनु पर्ने छ । अन्यथा भाडावालले गरेको अपराधमा घरधनीको समेत संम्लग्नताको आशंकामा घरधनीलाई समेत कार्बाही हुनेछ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले घरमा भाडामा बस्नेहरुको विवरण अद्यावधिक गरी राख्नेतर्फ आवश्यक प्रक्रिया सुरु गरिसकिएको बताए । राजधानी दैनिकमा यो खबर छ ।