नवलपुरमा नेपाल भ्रमण वर्षको शुभारम्भ, भ्रमण वर्ष सफल बनाउनुपर्नेमा जोड

कावासोती/सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष–२०२० को पहिलो दिन आज नवलपुरमा पनि शुभारम्भ कार्यक्रम भएको छ । भ्रमण वर्ष सफल बनाउन सरकार र निजी क्षेत्र सबै कम्मर कसेर लाग्नुपर्नेमा शुभारम्भ कार्यक्रमका सहभागीहरुको जोड थियो। नवलपुर गण्डकी प्रदेशकै पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण जिल्लाका रुपमा रहेको भन्दै पर्यटन बर्ष सफल पार्न नवलपुरबासीहरु लाग्नुपर्नेमा जोड दिईयो।

गण्डकी प्रदेश सरकारले नवलपुरको मौलाकालिका, कैलाश आश्रम, देबचुली, बरचुली, त्रिवेणी गजेन्द्रमोक्ष धाम, मध्यबिन्दु, घुमारीघाट, कामुधेनु क्षेत्र, अकलादेवी, दाउन्नेदेबी र शाश्वतधामलाई पर्यटकीय गन्तव्यका रुपमा घोषणा गरेको र पर्यटकीय दृष्टिकोणले यी ठाउँ अत्यन्तै महत्वपूर्ण रहेकाले पनि नेपाल भ्रमण वर्षमा यो जिल्लामा मात्रै एक लाख बाह्य पर्यटक र नौ लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल भ्रमण वर्ष सुरु भएको नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डाँसुराज पोखरेलले बताए ।
आज नवलपुरको कावासोतीमा नवलपुर एफएमले गरेको नेपाल भ्रमण वर्ष–२०२० को शुभारम्भ तथा सातौं राष्ट्रिय टोपी दिवसको अवसरमा गण्डकी प्रदेशका सांसद विष्णु लामिछानेले गण्डकी प्रदेशको महत्वपूर्ण जिल्लाका रुपमा रहेको नवलपुरलाई नेपाल भ्रमण वर्ष सफल पार्न कुनै कसर बाँकी नराखिने बताए । कार्यक्रममा गण्डकी प्रदेश सरकारले नवलपुरका ११ वटा पर्यटकीय गन्तब्यका क्षेत्र घोषणा गरेको र त्यसको प्रचारप्रसारमा अहिले निजी क्षेत्रले बढी चासो देखाउन थालेको नवलपरासी उद्योग वाणिज्य संघ गैँडाकोटका अध्यक्ष अमृत भट्टचनले बताए ।

कार्यक्रममा प्रदेश नं ३ का सांसद मिलनबाबु श्रेष्ठ, नेपाल पत्रकार महासंघ पूर्वी नवलपरासीका अध्यक्ष होमराज रानाभाट, कावासोती खानेपानीका अध्यक्ष भीमलाल कँडेल, जेसीसका राधा उपाध्याय , उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष डाँसराज पोखरेल , भूपेन्द्र शर्मा भट्टराई, झपेन्द्रश्वर भुषाल, सरस्वती तिमिल्सिना, नारायण शर्मालगायतका वक्ताले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न सबैले आआफ्नो ठाउँबाट सक्दो सहयोग पु¥याउनु पर्ने बताबताएका थिए ।