यती समूहको कब्जामा पर्यटन क्षेत्र

यती समूहले मुलुकको सम्पूर्ण पर्यटन क्षेत्रलाई आफ्नो पन्जामा पार्दैै लगेको छ । पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्था मात्रै होइन, नियमनकारी निकायका उच्च पदमा समेत ‘आफ्ना मान्छे नियुक्त गर्न’ लगाउँदै आफूअनुकूल निर्णय गर्ने गरेको छ ।

यतिवेला चर्चामा रहेको नेपाल ट्रस्टको जग्गामा नवीकरण गर्ने विषयमा गृहमन्त्रीलाई ट्रस्टको अध्यक्षबाट हटाउने ताकत राख्ने यती समूहले पर्यटन बोर्ड, नेपाल एयरलाइन्स, नागरिक उड्डयन प्राधिकरणमा पनि उत्तिकै प्रभाव जमाउने गरेको पाइएको छ । आफूअनुकूल निर्णय हुन नगरेमा ती निकायका प्रमुख मात्रै होइन, मन्त्रीसमेतलाई हटाउनेसम्मको चलखेल यती समूहले गर्ने गरेको छ ।

प्राधिकरणको सञ्चालक समितिमा हरेकपटक यतीको प्रतिनिधि
पछिल्ला केही वर्षयता प्राधिकरण सञ्चालक समितिमा यती समूहको हालीमुहाली चल्दै आएको छ । प्राधिकरणको सञ्चालक समितिमा निजी क्षेत्रबाट पठाउने प्रतिनिधिमा मुख्यतः यती समूहको एक कोटा नै छुट्याइन्छ । एक साताअघिसम्म प्राधिकरण सञ्चालक समितिमा हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठ थिए । उनलाई हालै पर्यटनमन्त्री योगेश भट्टराईले श्रेष्ठलाई राजीनामा गर्न लगाएका छन् ।

यती समूहले धरानमा विमानस्थल बनाउने भन्दै स्थानीयबाट कौडीको भाउमा जग्गा उठाएको छ । त्यहाँ विमानस्थल बनाउने घोषणा गर्न समूहले बर्सेनि प्राधिकरणलाई दबाब दिने गर्छ । दुई वर्षअघि प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई धरानमा विमानस्थल बनाउने घोषणा गर्न र त्यहाँको जग्गाको मुआब्जा दिन दबाब दिइएको थियो । तर, उनले नमानेपछि तत्कालीन पर्यटनमन्त्री जितेन्द्रनारायण देवले गौतमलाई हटाउने प्रयास गरेका थिए । तर, निर्वाचन आचारसंहिता लागू भएका कारण हटाउन भने सकेनन् ।

त्यसवेला सञ्चालक समिति सदस्यमा यती समूहनिकटका निमा लामा थिए । उनले सञ्चालक समितिका सम्पूर्ण निर्णयहरू यती समूहलाई जानकारी गराउँथे । सोलुखुम्बुका लामाको गत वर्ष मृत्यु भयो ।

परीक्षण उडान नगरी हिमालयलाई ‘उडानयोग्य प्रमाणपत्र’
उडान अनुमति नपाउँदै यती समूह र चिनियाँको संयुक्त लगानीमा स्थापना भएको हिमालय एयरलाइन्सको जहाज चढेर प्रधानमन्त्री केपी शर्मा ओली अघिल्लो कार्यकालमा चीन भ्रमणमा गएका थिए ।

त्यसपछि परीक्षण उडान नै नगरी रातारात प्राधिकरणले हिमालयलाई उडानयोग्य प्रमाणपत्र जारी गरेको स्रोतको दाबी छ । त्यसवेला पनि महानिर्देशकमा गौतम नै थिए । सञ्चालक समितिमा यती समूहकै सहयोगी ईश्वरी पौडेल थिए । पौडेलले हिमालयलाई चीन जाने अनुमति दिन लबिङ गरेका थिए । तत्कालीन पर्यटनमन्त्री आनन्द पोखरेलले समेत गौतमलाई दबाब दिएका थिए  । करिब पाँच वर्षअघि प्राधिकरणको महानिर्देशकमा रतिशचन्द्रलाल सुमन थिए । उनले अन्तर्राष्ट्रिय उडान गर्नै नसक्ने यतीको जहाज भाडामा लिएको हिमालयलाई अन्तर्राष्ट्रिय उडान अनुमति दिएका थिए । अहिले उनै सुमन हिमालय एयरलाइन्सका कर्मचारी बनेका छन् ।

त्यति मात्रै होइन, प्राधिकरणको सञ्चालक समितिमा रहेका ईश्वरी पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जग्गामा हिमालयको भवन बनाउन दिने पहल गरेका थिए । विमानस्थलको कार्गो भवननजिकै १० रोपनी जग्गा हिमालयलाई उपलब्ध गराइएको छ ।

दर्ता खारेज भएको जहाज ब्युँताएर ताराको नाममा हस्तान्तरण
नेपाल एयरलाइन्सबाट यतीकै भगिनी तारा एयरले भाडामा लिएको एउटा जहाज दुर्घटनाका कारण उडान गर्नै नमिल्ने अवस्थामा पुगेको थियो । कलसाइन ९एन–एबिक्यू भएको ‘डिएचसी ६–३०० ट्विनअटर’ ९सिरियल नम्बर ६६५० उडानक्रममा सन् २०१२ मा डोल्पा विमानस्थलमा दुर्घटनामा परेको थियो । प्राधिकरणले पनि अब उडाउन नमिल्ने भन्दै दर्ता किताबबाटै जहाज हटाएको थियो । तर, तत्कालीन महानिर्देशक रतिशचन्द्रलाल सुमनकै मिलेमतोमा उक्त जहाजको दर्ता किताब सच्याइयो र तारा एयरको नाममा पुनः दर्ता गरियो । ताराले प्राधिकरणमा नयाँ दर्ता गर्दा ९एन–एबिक्यूको साटो ९ एन–एकेएम राखेको थियो । यो काण्ड हवाई इतिहासमा सबैभन्दा ठूलो अनियमितता हो । त्यस समयमा प्राधिकरणमा सञ्चालक समितिमा एयर डाइनास्टी एयरका प्रबन्ध निर्देशक पवित्र कार्की थिए । डाइनास्टीमा यतीको बहुमत सेयर छ । पछि ताराले उक्त जहाजलाई ३५ लाख डलरमा बिक्री गर्‍यो ।

पर्यटन बोर्डमा समेत हालीमुहाली
यती समूहले हवाई क्षेत्रमा मात्रै नभएर पर्यटन बोर्डमा समेत हस्तक्षेप गर्ने गरेको पाइएको छ । दुई वर्षअगाडि यती समूहकै जोडबलमा राजेन्द्र सापकोटा बोर्डको सञ्चालक नियुक्त भएका थिए । त्यसपछि यती समूहकै लबिङमा कृष्ण अर्याल पर्यटन बोर्ड सदस्यका रूपमा नियुक्ति पाए । पछिल्लो समय ‘भिजिट नेपाल २०२०’ को सदस्यसचिवका रूपमा पर्यटनमन्त्री योगेश भट्टराईले बच्चुनारायण श्रेष्ठलाई नियुक्त गरेका छन् । श्रेष्ठ पासाङ ल्हामु प्रतिष्ठानका महासचिव हुन् । श्रेष्ठ लामो समयदेखि यती समूहको सल्लाहकारको भूमिकामा छन् । उनले तत्कालीन पर्यटनमन्त्री कृपासुर शेर्पाको सल्लाहकारसमेत भएर कार्य गरेका थिए ।

टिकटको आधिकारिक विक्रेतामा एकछत्र राज
नेपालमा कुनै अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्न अनुमति माग्नेबित्तिकै यती समूहको नजरमा पर्ने गर्छ । यती समूहको लगानीमा रहेको ‘यती इन्सेन्टिभ कम्पनी’मार्फत ‘जनरल सेल्स एजेन्ट’ ९जिएसए–टिकटको आधिकारिक विक्रेता० कब्जा गर्दै आएको छ ।

करिब पाँच वर्षअघि तत्कालीन पर्यटनमन्त्री दीपक अमात्यलाई दबाब दिएर सिचुवान एयरलाइन्सको आधिकारिक विक्रेता लिन खोजेको थियो । अमात्यले सोसाइटी ट्राभलका सञ्चालक रवि सिंहलाई सो एयरलाइन्सको जिएसए दिलाउन लबिङ गरे  । त्यसपछि अमात्यलाई पर्यटनमन्त्रीबाट हटाइयो र कृपासुर शेर्पालाई पर्यटनमन्त्री बनाइयो । शेर्पाले प्राधिकरणदेखि निगमसम्म सञ्चालक समितिमा हस्तक्षेप गरेका थिए । उनले नेपाल वायुसेवा निगमका सञ्चालक सदस्य अशोक पोखरेल, अमर माली र टंकनाथ आचार्यलाई हटाएर यती समूहकै लगानीमा सञ्चालित अल्टिच्युट एयरका प्रबन्ध निर्देशक निमानुरु शेर्पा र पोखराका पर्यटन व्यवसायी मुक्ति पाण्डेलाई नियुक्ति दिएका थिए । तर, पोखरेल, माली र आचार्य सर्वोच्च गएपछि शेर्पाको निर्णय कार्यान्वयन भएन । पछि तीनैजनाको समय सकिएपछि निमानुरु शेर्पा र पाण्डेले फेरि नियुक्ति पाएका थिए ।

यती समूहले थाई एयरलाइन्स, कुवेतको वातानीय, मलेसियाको मालिन्दो एयर र भुटानको ड्रुक एयरको जिएसए लिएको छ । इन्सेन्टिभ कम्पनीको जिम्मा भने स्व। आङछिरिङका छोरा नोर्बु शेर्पाले लिँदै आएका छन्  ।

यती समूहको बचाउ गर्न पर्यटन संघसंस्थालाई उर्दी

पर्यटन क्षेत्रका केही प्रतिनिधिमूलक संगठनहरू यती तथा थामसेर्कु समूहको पक्षमा उभिएका छन् । यती समूहको पक्षमा लाग्नेमा सरकारको तर्फबाट २७ हिमालको रोयल्टी उठाउने नेपाल पर्वतारोहण संघ ९एनएमए० समेत छ । संघको बोर्डमा पर्यटन विभागमा महानिर्देशक पदेन सदस्य हुन्छन् ।

‘मिडियामा यतीविरुद्ध नियोजित रूपमा समाचार आयो,’ संघका अध्यक्ष सन्तवीर लामाले भने, ‘हाम्रो आपत्ति पत्रपत्रिकाप्रति नै हो, अब अन्य संघसंस्थाले पनि विज्ञप्ति निकाल्छन् ।’ विभिन्न सञ्चारमाध्यममा आएका समाचारलाई लिएर संघलगायत नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर एजेन्ट ९नाट्टा०, सगरमाथा आरोहण संघले विज्ञप्ति निकालेर यती समूहको बचाउ गरेका हुन् ।

थामसेर्कुले सबै व्यवसायीहरूलाई व्यक्तिगत रूपमै फोन गरेर यतीको पक्षमा वकालत गर्न दबाब दिएको व्यवसायीले बताउँछन् । थामसेर्कुले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान०, ठमेल पर्यटन विकास परिषद्, शेर्पा आरोही संघ, मजदुर संगठनहरूलाई समेत विज्ञप्ति निकाल्न दबाब दिएको पर्यटन व्यवसायीको भनाइ छ । टुर गाइड एसोसिएसन, होटेल संघ नेपाल ९हान, सोसाइटी अफ टुर अपरेटर्स ९सोट्टो०, नेपाल एसोसिएसन अफ टुर अपरेटर्स ९नाट्टो०, मगर पर्यटन, गाउँ पर्यटन संघलगायत दर्जनौं संस्थामा दबाब दिइरहेको छ । यी संघसंस्थाले नेपाल पर्यटन बोर्ड तथा पर्यटन विभागबाट हरेक वर्ष आर्थिक सहयोग लिएर अन्तर्राष्ट्रियस्तरमा पर्यटन प्रवद्र्धनका कार्यक्रम गर्दै आएका छन्  ।

यता, तीनपटकसम्म नेपाल पर्वतारोहण संघका अध्यक्ष भएका आङछिरिङ शेर्पाले भने व्यक्तिको पक्षमा संघले विज्ञप्ति निकाल्नु गलत भएको बताउँछन् । ‘अन्तर्राष्ट्रियस्तरको संस्थामा यसरी कुनै व्यक्ति विशेषलाई जोडेर बचाउमा लाग्नु गलत हो,’ शेर्पाले भने ।

नेतृत्वले खुट्टा कमाउँदा निजीको हस्तक्षेप बढ्छ स् यज्ञ गौतम
पूर्वपर्यटन सचिव
नेतृत्व डराउनाले निर्णयमा प्रभाव पर्छ । प्राधिकरण तथा मन्त्रालयको नेतृत्वमा बस्नेहरूले खुट्टा नटेक्दा यस्ता समस्याहरू आएका हुन् । मैले त कुनै पनि प्रभाव पर्ने निर्णयमा हस्तक्षेप गर्न दिइनँ, कति निर्णयमा नोट अफ डिसेन्ट नै लेखेर रोकेँ ।

व्यक्तिविशेषको बचाउमा पर्वतारोहण संघ उत्रिनु गलत हो स् आङछिरिङ शेर्पा, पूर्वअध्यक्ष
नेपाल पर्वतारोहण संघ
नेपाल पर्वतारोहण संघ व्यवसायीका कुरा उठाउनेभन्दा सरकारलाई प्राविधिक सहयोगका लागि स्थापना भएको संस्था हो । अन्य संस्थाले जस्तै व्यक्ति विशेषको बचाउमा उत्रिनु गलत प्रवृत्ति हो । सरकारकै एउटा अंग भएको संस्थाले मिडियामा आएका विषयमा पक्ष र विपक्षमा बोल्नु राम्रो होइन । संघले त हिमालमा आरोहणका लागि सहज गर्ने दक्ष जनशक्ति उत्पादनमा लाग्ने हो ।

यतीलाई सिचुवान एयरलाइन्सको जिएसए नदिँदा अमात्यको मन्त्री पद गुम्यो

०७३ मा पर्यटनमन्त्री दीपक अमात्यले सिचुवान एयरलाइन्सको जेनेरल सेल्स एजेन्ट ९जिएसए–टिकटका आधिकारिक विक्रेता० यती समूहलाई दिन चाहेनन् । पछि उनको पद नै गुम्यो । अमात्यका ठाउँमा यती समूहका ‘दाहिने हात’ कृपासुर शेर्पालाई पर्यटनमन्त्री बनाइयो ।

परीक्षण उडानमै हिमालय एयरलाइन्स चढेर प्रधानमन्त्री ओली चीन भ्रमणमा

०७२ मा पर्यटनमन्त्री आनन्द पोखरेल थिए । सञ्चालक समितिमा यतीनिकट ईश्वरी पौडेल । हिमालयको परीक्षण उडान नै नगरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली चार्टर गरेर चीन भ्रमणमा गएका थिए ।

दर्ता खारेज ब्युँताएर तारा एयरलाई पत्रु जहाज उडाउन दिइयो

नेपाल वायुसेवा निगमबाट तारा एयरले भाडामा लिएको जहाज ०७० मा दुर्घटनाग्रस्त भएपछि प्राधिकरणले दर्ता खारेजी गरिदियो । तर, यतीको दबाबमा सो पत्रु जहाजको पुनः दर्ता गरेर ताराले नै लियो । त्यसवेला प्राधिकरणका महानिर्देशक यतीनिकट रतिशचन्द्रलाल सुमन थिए भने सञ्चालक समिति एयर डाइनेस्टीका पवित्रकुमार कार्की थिए ।

भिजिट नेपाल २०२० का सदस्यसचिव नै यतीका सल्लाहकार

‘भिजिट नेपाल २०२०’ को सदस्य सचिवका रूपमा पर्यटनमन्त्री योगेश भट्टराईले बच्चुनारायण श्रेष्ठलाई नियुक्त गरेका छन् । श्रेष्ठ पासाङ ल्हामु प्रतिष्ठानका महासचिव हुन् । श्रेष्ठ लामो समयदेखि यती समूहको सल्लाहकारको भूमिकामा छन् । उनले तत्कालीन पर्यटनमन्त्री कृपासुर शेर्पाको सल्लाहकारसमेत भएर कार्य गरेका थिए । नयाँ पत्रिकाबाट