चितवनका युवा व्यवसायी सिग्देलमाथि दिनदाहाडै सिजी मलमा आक्रमण

भरतपुर/चितवनका युवा व्यवसायी रामप्रसाद सिग्देल (सुलभ) माथि आक्रमण भएको छ । भरतपुरस्थित सिजी ल्याण्डमार्कमा रहेको पपुलर शैलुनका संचालक सिग्देललाई अपरिचित समूहले आज (बिहिबार) अपरान्ह आक्रमण गरेको हो । काम सकेर घर फर्कने क्रममा उनलाई सिजी ल्याण्डमार्कको पार्किङमा तीन जनाको समुहमा आएकाहरुले आक्रमण गरेका हुन । सिसी टिभी फुटेजमा उनिहरु सिजी ल्याण्डमार्कको प्रवेशद्धारमा कुरेर बसेको र देख्नासाथ बाइकको हेलमेट प्रयोग गरेर आक्रमण गरेको देखिन्छ । मलका सुरक्षा गार्ड गएपछि उनिहरु भागेको सिसीटिभी फुटेजमा देखिन्छ ।

अक्रमणबाट सिग्देलको हात र टाउकोमा चोट लागेको छ । उनको भरतपुर अस्पतालमा आकस्मिक कक्षमा उपचार भइरहेको छ । केही साताअघि पनि उनिमाथि सिजी मलमा नै आक्रमण भएको थियो । आक्रमणमा संलग्नको खोजी गरेपनि पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । यसपटक आक्रमणमा संलग्नको पहिचान नजिक पुगेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार आक्रमणमा संलग्नको खोजीका लागि सबै क्षेत्रमा प्रहरीको संयन्त्र खटिएको छ । प्रहरीले सिसी टिभी फुटेजका आधारमा अनुसन्धान गरिरहेको पुरीले बताउनुभयो ।