बाटोमा फोहोरी राजनीति : बार्गेनिङले रोकियो काम

तुलसीपुर, तुलसीपुर उपमहानगरपालिका–३ पैयाखोरेकी मनपति घर्तीलाई अचानक पेट दुख्ने व्यथाले च्याप्यो । सडकको सुविधा नभएका कारण गाउँलेले ३ घण्टा जति बोकेर उनलाई सडकमा ल्याए । हतारहतारमा उनलाई अस्पताल पु¥याइयो तर डाक्टरले चेकजाँच गरी नसक्दै उनले संसार छाडिन् । यो घटना मंसिर पहिलो साताको हो । यस्तै घटना छ, कल्ले निवासी रामप्रसाद रोकाको पनि । उनकी श्रीमती नन्दकली रोका अचानक बिरामी परिन् । हतारहतार परिवारले डोकोमा बोकेर साढे दुई घण्टामा सडकसम्म ल्याए । तर, अस्पताल नपुग्दै उनले पनि संसार छाडिन् ।
यी केही प्रतिनिधि घटना मात्रै हुन् । तुलसीपुर उपमहानगरपालिका–३ का सातबास, कल्ले, बल्ले, पैयाखोरे, नाउँलालगायतका जनताका लागि बाटो भन्ने कुरा अहिले पनि सपनाजस्तो छ । ‘बाटोको मुख देख्ने आशा मरेको छैन,’ स्थानीय कर्ण बुढाले भने । स्थानीय तहमा जनप्रतिनिधि आएपछि त्यहाँ बजेट विनियोजन गरियो । साँघुरो सडक सातबाससम्म जेनतेन पुग्यो । जनताले पहिलोपटक आफ्नै गाउँमा गाडी देखे । सडकको अवस्था कमजोर हुँदा कहिलेकाहीँ मात्रै गाडी सञ्चालन हुने भयो । सडकको अवस्था बिग्रँदै गएपछि एक निर्माण कम्पनीलाई ढुंगा उठाउन दिने सर्तमा बाटो खन्नका लागि अनुरोध गरियो ।

लमही तुलसीपुर चारलेन सडक निर्माण गरिरहेको तथ्य इन्जियिरिङ एन्ड इन्फ्रा प्रोजेक्ट कम्पनीले सडक विस्तारको जिम्मा लिएको थियो । स्थानीय उपभोक्ता समिति र निर्माण कम्पनीका बीचमा सडक विस्तार गरिदिने र त्यहाँको खेर जाने ढुंगा फोरलेन सडकमा लगाउने सहमति भयो । उपमहानगरपालिका कार्यपालिकाको बैठकले अमानतमा राजस्व लिएर सडक निर्माणको कामलाई सहजीकरण गर्नका लागि ढुंगा उठाउने
जिम्मासमेत दियो ।

बाटो बन्ने भएपछि जनता खुसी देखिन्थे । तर, राम्रीबाट ल्याइएको तुलसीपुर खानेपानी संस्थाको पाइपमा क्षति हुने भएपछि खानेपानीले अनावश्यक विवाद सिर्जना सुरु गर्दा बाटो निर्माण कार्य रोकिएको छ । बाटो निर्माण गर्दा खानेपानीमा क्षति हुने भएपछि कर्मचारी र पदाधिकारीको सहभागितामा सडक निर्माणपश्चात् बिग्रिएका पाइप बनाउने सहमति पनि भएको थियो । उपभोक्ता समितिका अध्यक्ष कर्ण बुढाले भने, ‘हामीले गरेको सहमति प्रतिकूल अचानक खानेपानीले बखेडा झिक्दा अचम्म लागेको छ ।’

यता, निर्माण कम्पनीले भने अनावश्यक पैसाको बार्गेनिङका कारण काम रोक्नुपरेको बताएको छ । ‘पैसाको माग भएको थियो राम्रो काम गर्दा केको पैसा दिने भनेपछि विरोध सुरुभएको हो,’ निर्माण कम्पनीका जनक डाँगीले भने । उनले आवश्यक परे प्रमाणसमेत पेस गर्ने पनि बताए ।
तुलसीपुर खानेपानी संस्थाले पाइप काटिएको विषय बनाएर अनर्गल हल्ला फैलाएको प्रति स्थानीय जनता आक्रोशित भएका छन् । संस्थाका अध्यक्ष खेमराज वलीले मनोमानी ढंगले स्थानीय जनताको भावनामाथि खेलबाड गरेको भन्दै आवश्यक परे पुत्लासमेत जलाउने बताए । ‘खानेपानीको पाइप निर्माण गरिदिने सहमति हुँदाहुँदै अनेक बखेडा झिक्नु षड्यन्त्र मात्रै हो,’ स्थानीय तिलक वलीले भने, ‘उसका कर्मचारी र पदाधिकारीले गरेको सहमति उसले नमान्ने हुन्छ रु’ वलीले बिग्रिएको पाइप बनाउने सहमति हुँदाहुँदै पनि किन कुरा बङ्गाउने भनी प्रश्नसमेत गरे ।

‘खोलामा बगेर जाने ढुंगा लैजाने सर्तमा हामीले बाटो बनाउन दिएका हौं,’ सातबास पैयाखोरे सडक निर्माण समितिका अध्यक्ष कर्ण बुढाले भने, ‘जिन्दगीभर हिँडेर बिताएँ, मर्ने मेलामा सडक होला भनेको त फेरि केके भन्न थाले ।’ उपमहानगरपालिकाका जनता हुँदासमेत घण्टांै हिँड्नुपर्ने बाध्यताको अन्त्यका लागि आफूहरू जस्तोसुकै कदम चाल्न पनि तयार रहेको स्थानीयले बताए ।

वाटो निर्माणको काम अन्तिम चरणमा पुगेको अवस्थामा सोही विषयलाई लिएर तरुण दल दाङ र नेविसंघले गरेको विरोधको प्रतिकार गर्ने समेत उनीहरूले बताएका छन् । ‘वाटो नहुँदा कति दुःख छ भन्ने कुरा उनीहरूलाई के थाहा रु स्थानीय जनताको मर्मविपरीत बोल्ने अधिकार कसैलाई पनि छैन,’ स्थानीय रेशमवहादुर रोकाले भने ।राजधानी दैनिकबाट