उखु मिल सञ्चालकको बदमासी: किसानलाइ पैसा नतिरी मिल बन्द गर्ने तयारी

काठमाडौं, अन्नपूर्ण सुगर मिलले उखु किसानको करोडौं रुपैयाँ भुक्तानी नतिरेर मिल बन्द गर्ने तयारी गरेको छ । करिब १२ हजार उखु किसानको उखु क्रसिङ गरेको भुक्तानी नतिरेर अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवालले मिल बन्दा गर्ने तयारी गरेका हुन् ।

किसानको भुक्तानी नै नबुझाएर मिल बन्द गर्ने तयारी थालेपछि किसान मर्कामा परेका हुन । महासंघका अध्यक्ष कपिलमुनि मैनालीले मिलका सञ्चालक अग्रवालले सर्लाही र रौतहटका करिब १२ हजार किसानको करिब चार वर्ष देखिको ४० करोड रुपैयाँ भुक्तानी गर्ने बाँकी रहेको बताए । अध्यक्ष मैनालीले उखु भक्तानीका लागि पटकपटक सरकारलाई पहल गर्दा पनि सरकारले किसानलाई बेवास्ता गुसानो गरे । मैनाललीका अनुसार मिल सञ्चालकले हरेक वर्षको करिब ४र५ करोड गरेर हाल ४० करोड रुपैयाँ बाँकी छ ।

‘यसअघि प्रमुख जिल्ला अधिकारी, प्रहरी र स्थानीय निकायसहितको रोहवरमा उखुको बक्यौता तत्काल भुक्तानी गराउने सहमति भएको थियो।। बक्यौता रकम असार मसान्त र नयाँ रकम कात्तिकसम्ममा भुक्तानी गरिसक्नुपर्ने सहमति भएको थियो । अहिले अन्नपूर्ण सुगर मिलका सञ्चालक बाँकी बक्यौता दिन नसक्न भनेर मिल नै बन्द गर्ने भएको छ । महासंघका अध्यक्ष मैनालीले भने, ‘किसानको करोडौँ रुपैयाँ भुक्तानी नगरे मिल नै बन्द गर्दासमेत सरकारले किसानका लागि कुनै पहल गरेको छैन ।

किसानलाई समस्या पर्दा पनि सरकारले कुनै पहल नै नगर्दा उद्योगीबाट सधैं उखु किसान पीडित नै हुने गरेका छन् । मैनालीले भने, ‘महासंघले समन्वयकारी भूमिका मात्रै खेल्नेछ । यसभन्दा केही गर्न सक्दैन । अब जे गर्नु छ, सरकारले गर्छ । आफूहरूले महासंघबाट केही गर्न नसक्ने मैनालीको भनाइ छ ।

मैनालीका अनुसार सरकारी अनुदान र उखु उद्योगको गरी किसानलाई करिब साढे २ अर्ब रुपैयाँ भुक्तानी हुन बाँकी छ।। सरकारबाट गत वर्षकै १ अर्ब ३१ करोड रुपैयाँ बाँकी छ।। अघिल्लो वर्षको २ करोड रुपैयाँ अनुदान पनि बाँकी छ।

श्रीराम सुगर मिलले मात्र किसानलाई ४२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ।। तर, उक्त मिलले पैसा दिन नसक्ने बताउँदै आएको छ।। अन्नपूर्ण सुगर मिलको हकमा किसानको भुक्तानी दिन नसक्ने भनेर बन्द गर्ने भइसकेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले उखु किसानलाई अनुदान दिनुपर्ने रकम मध्यमा चालू आर्थिक वर्षमा ९२ करोड अनुदान मन्त्रालयले पठाइसकेको बताए । उनले अन्य बाँकी पठाउन क्रममा रहेको बताए । उनले उद्योगीले किसानलाई दिनुपर्ने रकमको हकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पहल हुनुपर्ने प्रवक्ता केसीको भनाइ छ । राजधानी दैनिकबाट