प्रचण्डद्धारा जेसीजको राष्ट्रिय महाधिवेशन उद्धघाटन: युवाहरुको ज्ञान, सिप र उर्जा देश निर्माणमा लगाउनुपर्नेमा जोड।

चितवन,पुस ९/ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरुको ज्ञान, सिप र उर्जा देश निर्माणमा लगाउनुपर्ने बताएका छन् । पुर्बिचितवनको रत्ननगरमा आजदेखि सुरु भएको नेपाल जेसीजको ४६ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले युवाहरुको अग्रसरतामा मात्रै परिवर्तन सम्भव रहेको भन्दै सम्पूर्ण युवाहरुलाई देश निर्माणमा लाग्न अपिल गरे।

युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा जेसिजको भूमिका महत्वपूर्ण भएको भन्दै पुर्बप्रधानमन्त्री प्रचण्डले समाजका विभिन्न क्षेत्रमा काम गर्ने युवाहरुलाई सकारात्मक काममा उत्प्रेरित गर्नुपर्नेमा जोड दिए। विश्वको शक्ति केन्द्र बेलायत, अमेरिका हुँदै अहिले एसियामा आउन लागेकोले नेपाल सबैको आँखामा परेको भन्दै प्रचण्डले यस विषयमा युवाहरु गम्भीर हुन आवश्यक रहेको बताए।

कार्यक्रमका सभापति एवम् नेपाल जेसीजका अध्यक्ष महेश पौडेलले हालका दिनमा युवाहरु विदेसिने माहोल बढेको र मृत्युवरण गरेर आउनेको संख्या पनि उल्लेख्य रहेकाले देशमै रोजगारीको अवस्था सृजना हुनुपर्नेमा जोड दिए । कार्यक्रममा रत्ननगर नगरपालिककाका मेयर नारायण वनले विदेसिएका युवाहरुलाई स्वदेश फर्काउने माध्यमका रुपमा भ्रमण वर्षलाई लिएको भन्दै पर्यटन उद्योगको विकास गरी रोजगारी सृजना गरिने बताए ।

कार्यक्रममा नेपाल जेसीजले विभिन्न १० विधामा १० जना युवाहरुलाई सम्मान गरेको छ । कार्यक्रममा नेपाल जेसीजका संस्थापक अध्यक्ष डा भेषबहादुर थापा, निर्वतमान अध्यक्ष श्रीधर बस्याल, नारायणगढ जेसीजका अध्यक्ष विकास श्रेष्ठ, रत्ननगर जेसीजका अध्यक्ष सुवास पोखरेल, महाधिवेशन निर्देशक पुष्प जोशीलगायतले मन्तव्य राखेका थिए । महाधिवेशनमा देशभरका १५० शाखाका तीन हजार प्रतिनिधिहरुको सहभागिता रहेको छ । मंगलबारदेखि सुरु भएको महाधिवेशन पुस १२ गतेसम्म चल्नेछ । निर्वाचनमा १ हजार ८७५ जनाले मतदान गर्ने रत्ननगर जेसीजका अध्यक्ष सुवास पोखरेलले बताए । महाधिवेशनअन्तर्गत १० गते नेतृत्वका लागि परिर्वतन विषय संवाद कार्यक्रम हुनेछ ।

संवाद कार्यक्रममा नेकपाका युवा नेता महेश बस्नेत, नेपाली काँग्रेसका युवा नेता गगन थापा, नयाँ शक्ति पार्टीका संयोजक रवीन्द्र मिश्र र अर्थविद् डा स्वणिम वाग्लेले सम्बोधन गर्ने कार्यक्रम रहेको महाधिवेशन निर्देशक पुष्प जोशीले जानकारी दिए । महाधिवेशनले सन् २०२० का लागि नयाँ नेतृत्व प्रदान गर्नेछ । कार्यक्रम नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष महेश पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।