कम्युनिष्ट मन्त्रीको कथन : सुकुमबासीलाई लालपुर्जा वितरण चितवनबाट

चितवन/ पुस ५/ नेकपा नेतृत्वको सरकारकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले चितवनको रत्ननगरबाटै सुकुमबासीलाई लालपुर्जा वितरण सुरु गर्ने बताएकी छन् । रत्ननगर नगरपालिकाले गरेको स्वागत तथा छलफल कार्यक्रममा शनिबार मन्त्री अर्यालले यस्तो कथन गरेकी हुन् ।
रत्ननगरले सुकुमबासीको तथ्याङ्क संकलनको काम गरिसकेकाले लालपुर्जा वितरणको काम यहिबाट सुरु गर्ने मन्त्री अर्यालले बताइन् । उनले सुकुमबासी तथा भूमिहिनहरुले अहिले प्रयोग गर्दै आइरहेको जग्गाकै लालपुर्जा उनीहरुलाई वितरण गरिने जानकारी दिइन् ।
३ नम्बर प्रदेशका सांसद कृष्णप्रसाद खनालले चितवन भूमिहिन, सुकुमवासी र अव्यवस्थितहरुको बाहुल्यता रहेको क्षेत्र भएकाले यही जिल्लाबाट पुर्जा वितरणको काम सुरु गर्न मन्त्री अर्यालको ध्यानाकर्षण गराए ।
कार्यक्रममा रत्ननगरका मेयर नारायण वनले रत्ननगरका सुकुमबासीहरुले लालपुर्जा सिरानीमा राखेर सुत्ने दिन कुरिरहेको बताए । रत्ननगरमा नगरपालिका र विभिन्न संघसंस्थाको सहयोगमा सुकुमबासी, भूमिहिनहरुका लागि करिब ८० घर निर्माण गरिसकेको मेयर वनले सुकुमबासी समस्या सधैको लागि अन्त्य हुने गरी काम गरिने बताए ।

भावी सन्ततीको लागि सार्वजनिक जग्गा संरक्षण गरिरहेको भन्दै मेयर वनले कसैलाई पनि सार्वजनिक जग्गा हड्प्न नदिने प्रतिबद्धता जनाए । उनले दुई वर्षको अवधिमा नगरपालिकाले करिब ४० बिघा सार्वजनिक जग्गा संरक्षण गरिसकेको जानकारी दिए ।