बम विस्फोटमा प्रहरी निरीक्षक र बाबुछोरासहित तीनजनाको मृत्यु

सुजीतकुमार झा /जनकपुरधाम/धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति भएको बम विस्फोटमा एक जना प्रहरी निरीक्षक र
बाबुछोरासहित तीन जनाको मृत्यु भएको छ । बम विस्फोटमा केही घाइते भएका छन् ।

मृत्यु हुनेमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर दाहाल, औषधि व्यवसायी ४६ वर्षीय राजेश्वर साह र उनका २४ वर्षीय छोरा आनन्द साह रहेका छन् । साह बाबुछोराको घटनास्थलमै र प्रहरी निरीक्षक दाहालको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
बम विस्फोटबाट प्रहरी जवान रिजनाथ महतो, राजेश्वरका अर्का छोरा प्रकाश साह, छोरी अञ्जली साह र बुबा भिखारी साह गम्भीर घाइते भएका छन् । भिखारीबाहेक अन्य तीन जनाको उपचार धरानमा भइरहेको छ ।

घटनास्थल इलाका प्रहरी कार्यालयभन्दा करिब ४ सय मिटरको दूरीमा रहेको छ । क्षीरेश्वरनाथ ५ स्थित राजेश साहको नवनिर्मित घरको ढोकामा शंकास्पद वस्तु झुन्डिएको खबरपछि प्रहरी निरीक्षक दाहाल घटनास्थल पुगेका थिए ।

शुक्रबार राति १२ बजे राजेशकी श्रीमती अञ्जु शौचालयतर्फ जान लाग्दा ढोकामा केही वस्तु झुन्डिएको देखेपछि उनले परिवारका सदस्यलाई त्यसबारे जानकारी गराएकी थिइन् । अञ्जुका अनुसार राजेश र छोरा आनन्दले नजिकै रहेको इलाका प्रहरी कार्यालयमा पुगेर घटनाबारे जानकारी गराएका थिए ।

त्यसपछि मोबाइल ड्युटीबाट फर्केर कार्यालय पुगेका प्रहरी निरीक्षक दाहाल आफूसमेत पाँच जनाको टोली लिएर घटनास्थल पुगेका थिए । प्रहरी निरीक्षक दाहालले ढोकामा झुन्ड्याइएको झोलामा कुनै प्रकारको तार वा अन्य वस्तु जडान भए नभएको हेरे । उनले नजिक पुगेपछि पुरानो कुकर रहेको र त्यो डराउनका लागि राखेको हुन सक्ने बताइरहेका थिए । त्यसबेला प्रहरी निरीक्षक दाहालसँगै राजेश र उनका छोराछोरी पनि वरिपरि थिए । त्यहीबेला विस्फोट भयो । राजेश र उनका छोरा आनन्दको घटनास्थलमै मृत्यु भयो ।

विस्फोटबाट प्रहरी निरीक्षक दाहालको करिब आधा शरीर जल्न पुग्यो । उनको पेटमा छर्रा लागेको थियो र छर्रा लागेर बनेको प्वालबाट ह्वालह्वाल्ती रगत बग्न थालेपछि तत्कालै उपचारार्थ धरान लगिएको थियो ।

बम विस्फोटको जानकारीपछि तत्कालै प्रहरीको अर्को टोली घटनास्थल पुगेको थियो । ‘बम विस्फोट भएको जानकारी पाउनेबित्तिकै म घटनास्थल पुगेको थिएँ,’ एक जना नायब प्रहरी निरीक्षकले भने, ‘घटनामा कोको परे भनेर हेर्न गएको त इन्सपेक्टरसाब आफैं उठ्नै नसक्ने अवस्थामा पुगिसक्नुभएको रहेछ । उठाएर गाडीमा हाल्न खोजें, उनको कम्मरमा दुखेको हुनुपर्छ, कम्मरमुनि हात हाल्दिनुस् भन्नुभयो । उहाँको मुखबाट मैले सुनेको अन्तिम वाक्य त्यो नै हो ।’

बम विस्फोटबारे अनुसन्धान गरिरहेका एसएसपी राजेन्द्र चौधरीले टाइम बम विस्फोट गराइएको बताए । ‘शक्तिशाली टाइम बम प्रयोग गरेर घटना गराइएको हो,’ एसएसपी चौधरीले भने । महेन्द्रनगरमै औषधि पसल चलाउँदै आएका राजेशसँग लेनदेनसम्बन्धी विवादका कारण यस्तो घटना गराइएको हुन सक्ने परिवारजनको आशंका छ ।

तीन जना पक्राउ

सो घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरू विप्लव समूहसँग आबद्ध रहेको बताइएको छ । पक्राउ पर्नेमा विप्लव समूहका प्रदेश २ संयोजक ५१ वर्षीय सीतादेवी महरा, केन्द्रीय सदस्य ४१ वर्षीय ललिता महरा र रामसोभित गाहा रहेका छन् । उनीहरूमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूको विस्फोटको घटनामा कस्तो संलग्नता रहेको प्रहरीले बताएको छैन ।

छानबिन टोली गठन

बम विस्फोटको घटना छानबिनका लागि जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी निरीक्षक उमाशंकर साहको नेतृत्वमा सात सदस्यीय अनुसन्धान टोली गठन गरेको छ छ । सो टोलीले घटनास्थल गई विभिन्न व्यक्तिसँग कुराकानी गरेको छ ।

अपराधीलाई कारबाही गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गृहमन्त्रीले रामबहादुर थापाले धनुषा बम विस्फोटको घटनामा संलग्न अपराधीलाई कारबाही गरिछाड्ने बताएका छन् । एकै परिवारका बाबु छोरासहित एक प्रहरी निरीक्षकको मृत्यु भएको सो घटना आततायी भएको भन्दै उनले सामाजिक सञ्जालमार्फत सो घटनाले आफू स्तब्ध भएको जनाएका छन् । ‘यस प्रकारको आततायी घटनामा संलग्न अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याइछाड्ने सरकारका तर्फबाट प्रतिबद्धता व्यक्त गर्छु,’ फेसबुकमार्फत उनले भनेका छन् । उनले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदनाका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

आज संस्थागत विद्यालय बन्द

बम विस्फोटमा परी विद्यार्थीसहित तीन जनाको मृत्यु भएको शोकमा आइतबार धनुषा जिल्लाभरिका सम्पूर्ण संस्थागत शैक्षिक संस्था बन्द हुने भएका छन् ।
संस्थागत विद्यालय संरक्षण समितिले एक विज्ञप्ति जारी गर्दै घटनाको शोकमा आइतबार धनुषा जिल्लाभरिका सम्पूर्ण संस्थागत विद्यालय तथा क्याम्पस बन्दको घोषणा गरेको हो ।

घटनापश्चात् संस्थागत विद्यालय संरक्षण समितिका अध्यक्ष चन्द्रनारायण मण्डलले एक विज्ञप्ति जारी गरी यस घटनाले स्तब्ध बनाएको भन्दै निजी शैक्षिक संस्था बन्द रहने जनाएका छन् ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगरमा शुक्रबार राति राजेश्वर साहको घरमा अज्ञात व्यक्तिले छाडेको बम विस्फोट हुँदा साह र उनका छोरा आनन्द साहको घटना स्थलमै मृत्यु भएको थियो । छोरा आनन्द जनकपुरस्थित सिद्धार्थ शिशु सदन स्कुलमा कक्षा १० मा अध्ययनरत थिए । यस्तै, घटनामा गम्भीर घाइते भएका धनुषाका इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका इन्सपेक्टर अमिर दहालको समेत उपचारको क्रममा मृत्यु भएको थियो ।
राजेश्वर साहका बुबा भिखारी साह, अर्का छोरा प्रकाश, छोरी अञ्जली र प्रहरी जवान रिजन महतो गम्भीर घाइते भएका छन् । त्यस्तै, छोरी निक्कीसमेत घाइते भएकी छन् ।

इन्सपेक्टरले केही होइन भनेलगत्तै विस्फोट भयो : घाइते भिखारी साह

घाइते ७० वर्षीय भिखारी साहले बम विस्फोटमा परी देब्रे आँखाको दृश्यशक्ति गुमाएका छन् । महेन्द्रनगरमा उनीहरूको दुईवटा घर छ । उनले भने, ‘एउटामा हामी बस्छौं र अर्कोमा छोराबुहारी । मध्यराति घरको गेटमा झोला झुन्डिएको देखेपछि राजेश परिवारसहित हामी बस्ने गरेको घरमा आयो । परिवारलाई घरमा राखेर छोरा राजेश बम भएको घरमा गयो । त्यतिबेला इलाका प्रहरी कार्यालयबाट प्रहरी पनि आइसकेको थियो । केहीबेरपछि हामी पनि त्यहाँ पुगेका थियौं ।’

प्रादेशिक अस्पताल जनकपुरको शैøयाबाट उनले सम्झिँदै भने, ‘ढोकामा झुन्डिएको रातो झोला देखाउँदै प्रहरी निरीक्षक दाहालले ‘केही पनि होइन’ भन्नुभयो । प्रहरी निरीक्षक दाहालले यसो भनेको केही सेकेन्डमै ठूलो आवाजसहित बम विस्फोट भयो ।’

‘छोरा राजेश, नाति आनन्द र प्रहरी निरीक्षक दाहाल नजिकै थिए, हामी केही पर थियौं,’ भिखारीले भने, ‘ठूलो आवाज आउनासाथ म बेहोस भएर भुइँमा लडें, त्यसपछि के भयो मलाई थाहा छैन ।’ राजधानी दैनिकबाट