प्रसिद्ध धार्मिकस्थल देवघाटमा कन्या गुरुकुल सञ्चालनआउदैं : जारी महायज्ञबाट आइतबारसम्म करिब १३ लाख संकलन

चितवनको प्रसिद्ध धार्मिक पर्यटकीय तीर्थस्थल देवघाटमा समावेशी कन्या गुरुकुल निर्माण गर्नको लागि भरतपुरमा शुरु भएको धनधान्याचल एवम् सप्ताह ज्ञान महायज्ञमा आइतबार तेस्रो दिन भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको छ । आइतबारसम्म आइपुग्दा महायज्ञमा १२ लाख ७० हजार २२३ रुपैयाँ संकलन भएको महायज्ञ मूल समितिका सहसचिव उद्धव सञ्जेलले जानकारी दिए । महायज्ञमा दानवीरहरु आउने क्रम जारी रहेको उल्लेख गर्दै सञ्जेलले महायज्ञका लागि रकम बोल्ने क्रम बढ्दै जाने बताए । मङ्सिर २१ गतेसम्म् सञ्चालन हुने महायज्ञबाट भएको आम्दानीले पवित्र तीर्थस्थल देवघाटधाममा १२ रोपनी क्षेत्रफलमा आवास सहितको कन्या गुरुकुल सञ्चालन गर्ने तयारी गरिएको महायज्ञ मूल समिति संयोजक रवीन्द्र अधिकारीले बताए । नेपालका सबै वर्ग समुदाय, सम्प्रदायका नारीहरुलाई समेट्ने गरी गुरुकुल शिक्षा प्रदान गर्न ॐ शिवशक्ति कल्याणी केन्द्र भरतपुरको आयोजनामा महायज्ञ सुरु गरिएको हो । कन्या गुरुकुलको निर्माण सम्पन्न गर्न करिब २० करोड रुपैयाँ लाग्ने अनुमान गरिएकोमा पहिलो चरणमा ६ कक्षादेखि शिक्षा आरम्भ गराइने अधिकारीले बताए । महायज्ञ अवधिभर बाल ब्रह्मचारी पण्डित श्यामशरण अधिकारीबाट पाठ पारायण, धर्म दर्शन एवम् पुराणका प्रवक्ता धर्माचार्य कृवष्णप्रसाद गुरागाईबाट कथा प्रवचन तथा विशिष्ट साधु सन्त महात्मा तथा जगतजननी शिवशक्ति स्वरुपा कयाणीबाट आशिर्वचन प्रदान हुने भइरहेको छ । पछिल्लो समय वैदिक सनातन धर्म र संस्कृतिमाथि हस्तक्षेप भइरहेकाले भन्दै गुरुकुल शिक्षामार्फत यसको संरक्षण र जगेर्ना गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको अधिकारीको भनाइ छ ।