मेडिकल कलेज सञ्चालकले विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता नगर्ने

काठमाडौँ मंसिर १०/ मेडिकल कलेज सञ्चालकले विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता नगर्ने बताएका छन् ।

मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पुगेर सात वटा मेडिकल सञ्चालकले शिक्षामन्त्री गिरिराजमणि पोखरेलाई ज्ञापन पत्र बुझाउँदै अतिरिक्त शुल्क फिर्ता नलिने अडान राखेका हुन् ।
उनीहरुले सरकारले तोकेभन्दा बढी शुल्क नलिएको भन्दै शुल्क फिर्ता नहुने नेपालगन्ज मेडिकल कलेज कोहलपुरका सञ्चालक सुरेश कुमार कनोडियाले बताए । तर अतिरिक्त शुल्कमा समायोजन गर्न भने सकिने उनको भनाइ छ ।

सरकारले बढी लिएको शुल्क फिर्ता गर्न मेडिकल कलेज सञ्चालकलाई मंगलबारसम्मको अल्टिमेटम दिएको थियो । मंगलबारसम्ममा बढी लिएको शुल्क फिर्ता नभए ठगी मुद्दामा पक्राउ गरी कारबाही गर्ने चेतावनी दिएको थियो ।

यो अल्टिमेटमपछि मंगलबार काठमाण्डौ मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस चितवन, लुम्बिनी मेडिकल कलेज पाल्पा, नेपाल मेडिकल कलेज जोरपाटी, नेपालगन्ज मेडिकल कलेज कोहलपुर, विराट मेडिकल कलेज विराटनगर र देवदह मेडिकल कलेजका सञ्चालकहरु शिक्षा मन्त्रालयमा ज्ञापन पत्र बुझाउन पुगेका हुन् ।