कानुनको ज्ञान नहुदाँ चेपाङहरु फसेका छन–सरोकारवाला

४ मंसिर, राप्ती । प्रचलित ऐन, कानुनको बारेमा पर्याप्त ज्ञान नहुदाँ सिमान्तकृत चेपाङ समुदायका मानिसहरु फस्ने गरेका छन । बुधबार राप्ती नगरपालिकाको वडा नं. ३ धमिलीमा आयोजित समुदाय साझेदारी प्रहरी तथा सरकारी वकिलसँग समुदाय कार्यक्रममा गरिबी र अशिक्षाका कारण चेपाङ समुदायमा पर्याप्त कानुनसम्बन्धि ज्ञानको अभाव रहेको औल्याइएको हो ।

नेपाल चेपाङ संघ राप्तीका उपाध्यक्ष प्रेम चेपाङले चेपाङहरुले अन्जानमै अपराध गर्ने गरेको बताए । पैसाको प्रलोभनमा विभिन्न तस्करी, लागुऔषध ओसारपसार तथा गाँजा खेति जस्ता क्रियाकलापमा चेपाङहरु लाग्ने गरेको उनले बताए । ‘विभिन्न प्रलोभनमा पारि चेपाङ युवाहरुलाई गलत काममा प्रयोग गर्ने गरेका छन’ – उनले भने – ‘कुन कामलाई कानुनले निषेध गरेको छ भन्नेबारे चेपाङहरुमा पर्याप्त ज्ञान छैन ।’ नेकपाका नेता श्याम पाठकले यो समुदायको बसोबास बिकट क्षेत्रमा बाक्लो रहेकाले त्यहाँ शिक्षाको पहँुच नहुदाँ समस्या भएको बताए ।

‘अशिक्षाका कारण कानुनबारे थाहा हुदैन’ – उनले भने – ‘उनीहरु गरिबीका कारण पैसाका लागि गलत काममा पनि अग्रसर रहन्छन ।’ यो समुदायमा कानुनी सचेतना बढाउनका लागि राज्यले भुमिका खेल्नुपर्ने उनले तर्क गरे । कार्यक्रममा जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी निरिक्षक बिरेन्द्र राज गुरुङले प्रहरीलाई साथीको रुपमा हेर्न आग्रह गरे । उनले घरेलु हिसां, महिला हिसां, बालश्रम, लागुऔषध सबैलाई कानुनले अपराध मानेकाले त्यसमा नलाग्न आग्रह गरे । कुनै किसिमको अन्याय भएको महसुस भए निर्धक्क प्रहरी वा वडा कार्यालयमा उजुरी दिन सक्ने उनले बताए ।

जिल्ला न्यायधिबक्ता यदुनाथ शर्माले प्रहरी र वकिलहरु जनताको सेवामा तल्लीर रहेको बताए । उनले पिडित जो कोहिको पक्षमा सधै सरकारी वकिलले बहस गर्ने हुदाँ न्यायका लागि कानुनसँग कोहिपनि डराउन नहुने बताए । उनले पिडितले प्रहरी, सरकारी वकिल हुदै अदालतसम्म जाने प्रक्रिया, घटना घटेमा तत्काल न्याय कसरी पाउने लगायत बिषयमा सहजीकरणसमेत गरे ।

सहायक जिल्ला न्याधिवक्ता प्रकाश थापाले ग्रामिण क्षेत्रमा साना अपराधहरु धेरै हुने गरेको बताउदै सजग हुनुपर्ने बताए । उनले चेपाङ समुदायमा कानुनबारे जानकारी दिने उद्देश्यले नै चेपाङ बस्तीमा कार्यक्रम गरिएको जानकारी दिए । कार्यक्रममा स्थानिय चेपाङहरुले प्रहरीको कार्यशैली, उपस्थिति र सेवा प्रवाहका बिषयमा प्रश्न उठाएका थिए ।

विभिन्न चेपाङ अगुवाहरु, सरोकारवालाहरु, प्रहरी तथा पत्रकारहरुको उपस्थिति रहेको कार्यक्रम वडा सदस्य सुन बहादुर प्रजाको अध्यक्षतामा भएको थियो । राप्ती नगरपालिका वडा नं. ३ कै बिकट क्षेत्र धमिलीमा चेपाङ समुदायको बाक्लो बसोबास छ ।