भरतपुरमा प्राकृतिक अस्पताल सञ्चालन

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ४ सृष्टि चोकमा प्राकृतिक चिकित्सालय सञ्चालनमा आएको छ । माटो, पानी, जडिबुटीसहितका प्राकृतिक तत्वबाट बिरामीको उपचार गर्ने उद्देश्यले नेटफ्रेस हस्पिटल प्राली सञ्चालनमा आएको हो । हस्पिटलले बुधबार पत्रकार सम्मेलन गर्दै सेवा शुभारम्भ गरिएको जानकारी दिएको छ । दुई करोड रुपैयाँको लागतमा नेपालमा नै नभएका प्रविधि भित्र्याएर बिरामीको उपचार गर्न सुरु गरिएको हस्पिटलका प्रमुख गोविन्द हुमागाईले बताए । १० शैयाको अस्पताल सञ्चालनका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रसँग अनुमति मागिएको हुमागाईले बताए । गरिब तथा असहाय बिरामीको लागि ऐनअनुसार निशुल्क गर्ने उल्लेख गर्दै हुमागाईले बिरामीहरु आवासीय रुपमा नै बसेर उपचार गर्न सक्ने व्यवस्था गरिएको बताए । चार सय रुपैयाँको टिकट काटेर चिकित्सकसँग परामर्श लिन सकिने अस्पतालले जनाएको छ । डाक्टर सङ्ग्राम पुरीकाअनुसार पञ्चकर्म विधि तथा विभिन्न थेरापीको माध्यमबाट उपचार गरिनेछ । अस्पतालमा जनरल बेड, क्याबिन तथा विशिष्ट व्यक्तिका लागि समेत दुई वटा बेड छुट्याइएको पुरीले बताए । अन्य प्राकृतिक चिकित्सालयको भन्दा न्यून शुल्कमा बिरामीको उपचार गरिने उल्लेख गर्दै पुरीले बिरामीलाई चिकित्सकको निर्देशन अनुसार शुद्ध अर्गानिक खाद्यान्न खुवाइने बताए । ११ जना सञ्चालकहरु रहेको सो अस्पतालमा तीन जना चिकित्सक कार्यरत छन् । नेपालको नमूना अस्पताल बनाउने तयारीका साथ सञ्चालन गरिएको नेटफ्रेस अस्पतालले करिब तीन बिघा क्षेत्रफलमा एक सय ६७ प्रकारको जडिबुटी समेत लगाएको छ । अस्पतालका प्रबन्ध निर्देशक डा भगवानचन्द्र ज्ञवालीले अस्पतालमा मानसिक र दीर्घ रोगका बिरामीहरु बढी आउने गरेको बताए । अस्पतालले बिरामीलाई परामर्शका साथै योग शिक्षा समेत प्रदान गर्ने ज्ञवालीले बताए । बिरामीहरुको अप्रेशन विना नै प्राकृतिक तथा अन्य विविधबाट उपचार, दीर्घ रोगीको उपचार, चर्मरोगहरुको उपचार सुरु गरिएको ज्ञवालीको भनाइ छ । अस्पतालले प्राकृतिक आहारसहितको अन्तरंग सेवा, विशेषज्ञहरुबाट स्वास्थ्य परीक्षण तथा परामर्श, प्राकृतिक चिकित्सा, अकुपंचर अकुप्रेसर थेरापी, तनाव व्यवस्थापनलगायतका सेवा प्रदान गरिरहेको छ ।